एमसिसीले मच्चाउन थाल्यो दलहरुभित्रै महाभारत
एमसीसी प्रकरणले सिंगो मुलुक दुई ध्रुवमा विभाजित भैरहेका बेला आजदेखि राजनीतिक दलहरुमा समेत कित्ताबन्दी शुरु भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले प्रतिनिधिसभामा एमसीसी टेबल गर्ने निर्णय गरेपछि गठबन्धनका प्रमुख तीन दल माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपामा आन्तरिक किचलो चर्किएको छ ।
यसअघि एमसीसीको संसदीय अनुमोदनबारे पाँचदलीय गठबन्धनमा एकमत थिएन । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस एमसीसी अनुमोदनको पक्षमा उभिँदा माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा संसदमा टेबल गर्न नदिने अडानमा थिए । आ-आफ्नै अडानमा रहेका यी तीन दलमा एमसीसीलाई लिएर आन्तरिक विवाद थिएन ।
तर,आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी प्रतिनिधिसभामा टेबल गर्न सहमति दिएसँगै सो पार्टीमा चर्को विवाद देखिएको छ । सहमतिलगत्तै पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी टेबल गर्ने निर्णयको खुलेर आलोचना गर्नुभएको थियो । प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट एमसीसी दर्ता भैरहँदा खनाल उठेर नारावाजीमै उत्रिनुभयो ।
“कार्यकर्तालाई सडकमा ओरालेर नेतृत्वले एमसीसीमा सहमति गरेको भन्दै सुदूरपश्चिम प्रदेशका अध्यक्षले पार्टी परित्याग गर्ने चेतावनी नै दिएका छन् ।”
माओवादी केन्द्रमा पनि त्यस्तै विवाद देखिएको छ । एमसीसी अगाडि बढाउने विषयमा पार्टीमा छलफल नै नभएको भन्दै नेता नारायणकाजी श्रेष्ठको असन्तुष्टि सार्वजनिक भएको छ । माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा लिखित असहमति दर्ज गराउनुभएको थियो । संसद बैठकमा पनि माओवादी सांसदहरुले नारावाजी गरे ।
यता,जसपामा पनि अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीच एमसीसीलाई लिएर समान धारणा देखिएको छैन । भट्टराई यथास्थितिमै एमसीसी पारित गराउन ज्यान फालेर लाग्दा यादव भने संशोधनसहित पारित गर्नुपर्ने लाइनमा हुनुहुन्छ । तथापि, माओवादी र एकीकृत समाजवादीमा जस्तो जसपा विवाद बाहिर प्रकट भने भैसकेको छैन ।
माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन बैठकमा एमसीसी टेबल गर्ने विषयमा आफ्नो फरक मत राखेको भनिएकाले सो पार्टीमा सीमित नेताले बाहेक तल्लो तहमा असन्तुष्टि देखिएको छैन । तर, एकीकृत समाजवादीमा भने तल्लो तहसम्मै विवाद छताछुल्ल हुन थालेको छ । कार्यकर्तालाई सडकमा ओरालेर नेतृत्वले एमसीसीमा सहमति गरेको भन्दै सुदूरपश्चिम प्रदेशका अध्यक्षले पार्टी परित्याग गर्ने चेतावनी नै दिएका छन् ।
अध्यक्ष विक्रमबहादुर शाहीले एमसीसीको विरोधमा पार्टी त्याग्न अरुलाई समेत आग्रह गरेका छन् । संसदमा एमसीसी पेश भएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘नेपाल आमालाई अपमानित गरेर बिदेशीका सामु घुँडा टेक्ने नेता र पार्टीलाई त्याग्न तयार रहौं ।’ आफ्नो फेसबुकमा रहेका ४५ जना साथीलाई ट्याग गर्दै उनले गरेको सो पोष्ट अहिले फेसबुकमा भाइरल भएको छ ।
टिप्पणीहरू