जनयुद्धको उद्गमथलोमा अरूमाथि ज्यादती

जनयुद्धको उद्गमथलोमा अरूमाथि ज्यादती

तत्कालीन माओवादीले शुरु गरेको १० वर्षे ‘जनयुद्ध’को उद्गमस्थल हो, रोल्पाको होलेरी । ०५२ फागुन १ गते होलेरी प्रहरी चौकी आक्रमण गरी माओवादीले ‘जनयुद्ध’ शुरु गरेको थियो । होलेरीबाट शुरु भई देशमा १० वर्षसम्म चलेको ‘जनयुद्ध’बाटै माओवादी पार्टी उदय भएको हो ।

त्यही रापतापमा माओवादीले २०६५ यता देशको शासन सत्तामा पटक–पटक साझेदारी गर्न पाएको छ । अहिले त झन् आधारइलाकामा पर्ने प्रदेश सरकारको नेतृत्व पनि माओवादीले नै गरिरहेको छ । तर विडम्वना नै भन्नुपर्छ, त्यही माओवादीलाई उदय गराउने उद्गमस्थल होलेरी भने सधैँ उपेक्षामा परिरह्यो ।

‘जनयुद्ध’ कालमा माओवादीकै कारण कुनै पनि विकास निर्माणका काम हुन नसकेको होलेरीमा पछिल्लो समय पनि माओवादीकै कारण विकासभन्दा विनाश भएको नेपाली कांग्रेस रुन्टिगढीका सभापति जनक पुनको भनाइ छ ।

‘पहिलो कुरा रोल्पाको दक्षिणी भेगमा केन्द्रसम्म पहुँच राख्ने माओवादीका नेता भएनन्’, सभापति पुनले भने, ‘त्यही भएर पनि होलेरी क्षेत्र उपेक्षामा प¥यो ।’

दोस्रो कुरा माओवादी नेताकै कारण होलेरी क्षेत्रको विभिन्न खानीहरू अवैध उत्खननको शिकार बनेको पुनको आरोप छ । ‘विकास निर्माणको काम त केही पनि देखिँदैनन्’, पुनले भने, ‘बरु यहाँका खानीजति सबै उनीहरूकै पहलमा दर्ता भएका छन् रे !’

माडीचौरमा विकास, होलेरीमा विनाश

‘जनयुद्ध’को उद्गमस्थल होलेरीमा न राम्रो खानेपानीको सुविधा छ, न स्वास्थ्य, शिक्षा र सडकको व्यवस्था छ । युद्ध स्मारकसमेत स्थानीय सरकारले बनाएको छ भने शंकर पोखरेल मुख्यमन्त्री हुँदा परेको पहाडी हिल स्टेशन बनाउने प्रदेश सरकारको योजनाबाहेक होलेरीमा प्रदेश र केन्द्र सरकारको अन्य कुनै योजना नभएको रुन्टिगढी गाउँपालिकाका जनप्रतिनिधिको भनाइ छ ।

तर, माओवादी नेता वर्षमान पुन र ओनसरी घर्तीको गाउँ माडीचौरमा भने धान्नै नसकिने विकासे योजना छन् । एकीकृत बस्ती विकास, कृषि क्याम्पस, जलविद्युत् सम्भाव्यताको सम्पर्क कार्यालय, खेलकुद मैदान, खेलकुद मैदानलाई आधा ढाक्नेगरी माडीखोलामा पुल, लिबाङ–माडीचौर हुँदै दार्बाेट जोड्ने सडक, यी त ठूला योजना मात्र हुन् । सानातिना त के कति आउँछन्–जान्छन् माडीचौरका जनतालाई समेत थाहा छैन ।

स्थानीय सरकारमा एमाले आउँदा झन् उपेक्षा

१० वटा स्थानीय सरकार रहेको रोल्पामा ७ वटामा मात्र माओवादीको होल्ड छ । जसमध्ये दक्षिणी भेगमा पर्ने रुन्टिगढी र त्रिवेणीमा एमालेको सरकार रहेकाले पनि यस क्षेत्रमा माओवादी नेताले केन्द्रबाट बजेट हाल्न नचाहने गरेको स्थानीय सरकारका प्रमुखहरूको गुनासो छ ।

शहीद मार्गबाहेक अन्य कुनै ठूला योजना केन्द्रबाट यस क्षेत्रमा नपरेको रुन्टिगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताए । ‘यही क्षेत्रको योगदानबाट नेता बनेपछि यहाँ ठुल्ठूला योजना आउनुपर्ने हो’, बुढाले भने, ‘तर राजनीतिक पूर्वाग्रहका कारण हामीले नियमित आउने योजनासमेत नपाइरहेको अवस्था छ, यो दुःखद विषय हो । ’

वर्षमान ऊर्जामन्त्री हुँदा त्रिवेणीमा परेन विस्तारको योजना

वर्षमान पुन ऊर्जामन्त्री हुँदा उज्यालो रोल्पा अभियानको शुरुवात नै गरेर जिल्लाभर विद्युत् विस्तारको योजना बनाए । तर, त्रिवेणी गाउँपालिकामा बजेट नपरेपछि त्रिवेणीले छुट्टै उज्यालो कार्यक्रम सञ्चालन गर्नुपरेको थियो ।

हाल जिल्लाभर नै उज्यालो रोल्पा अन्तर्गतको काम भइरहेको भएपनि त्रिवेणी गाउँपालिकाले भने स्थानीय सरकारकै बजेटबाट कार्यक्रम सञ्चालन गरिहेको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए ।

‘वर्षमान पुन ऊर्जामन्त्री हुँदा नै हामीले त्रिवेणीबाहेकको उज्यालो रोल्पा भन्नुस् भनेका थियौं’ अध्यक्ष वलीले भने, ‘उहाँहरू सरकारमा हुँदा हामी सधैँ उपेक्षामा पर्ने गरेका छौं ।’

टिप्पणीहरू