स्थानीय निर्वाचनमा उम्मेदवारी घोषणा गरे कांग्रेसले कारबाही गर्ने

स्थानीय निर्वाचनमा उम्मेदवारी घोषणा गरे कांग्रेसले कारबाही गर्ने

कांग्रेस दार्चुलाले स्थानीय निर्वाचनमा आफूखुशी उम्मेदवारी घोषणा गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने भएको छ । स्थानीय तहको निर्वाचनका लागि ‘सम्बन्धित निकायमा छलफल र परामर्शबिना आफूखुशी विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने, गराउने कार्य नगर्न’ नेता–कार्यकर्तालाई भनिएको छ ।

पार्टीको विधि र नियमलाई पालना गर्न दार्चुला कांग्रेस जिल्ला सभापति ललितसिंह बोहराले विज्ञप्ति निकालेरै आग्रह गरेका छन् । उम्मेदवार हुने चाहना राख्नु स्वाभाविक भए पनि आफूखुशी सामाजिक सञ्जाल र मिडियामार्फत घोषणा गर्नु र गराउनु ठीक नभएको उनको भनाइ छ ।

वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिमा आफ्ना विचार र उम्मेदवारीको चाहना प्रस्तुत गर्न भने छुट दिइएको सभापति बोहराले जानकारी दिए । ‘सामाजिक सञ्जाल, होटल, चिया पसल र चोकमा बसेर उम्मेदवारी घोषणा गर्दा पार्टी र कार्यकर्ताको मनोबल घट्ने’ उनको ठम्याइ छ ।

माघ २८ र २९ गते कांग्रेस दार्चुलाको कार्यसमिति बैठक बसेको थियो । कांग्रेस दार्चुलाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी घोषणामा रोक लगाए पनि आसन्न प्रतिनिधिसभा निर्वाचनमा भने कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू निर्विकल्प उम्मेदवार रहेको जनाएको छ ।

दोस्रोपटक पनि चुनावी प्रतिस्पर्धाबाट सभापति भएका बोहरालाई बडूले निरन्तर साथ दिँदै आएका छन् । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उठेका विक्रमसिंह धामी देउवा पक्षधर मानिन्छन् ।

टिप्पणीहरू