कार्यकर्ता घाइते भएपछि प्रचण्ड आक्रोशित
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्नुभएको छ ।
विवाद र विरोधका बीच सरकारले एमसीसी संसदमा पेश गरेको भन्दै उहाँले आफ्नो पार्टी विपक्षमा उभिने पनि दोहोर्याउनु भयो । प्रचण्डले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताउनुभयो । ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ’, उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ ।
यता, संसदमा एमसीसी टेबुल गर्ने निर्णय सार्वजनिक भएलगत्तै यसको विरोधमा माओवादीको भ्रातृ संगठन वाइसिएल र अनेरास्ववियु क्रान्तिकारीले नयाँ बानेश्वरस्थित संसद भवन बाहिर नारा जुलुस गरेका थिए । प्रदर्शनका क्रममा क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, वाइसिएलका संयोजक सुमन देवकोटालगायत माओवादी केन्द्रका दर्जनौं कार्यकर्ता घाइते भएका छन् ।
कार्यकर्तालाई सडकमा उतारेर एमसीसी टेबल गर्न सहमति दिएको आरोप लागिरहेका बेला प्रचण्डको यस्तो धारणा आएको हो । उहाँले प्रहरी दमनमा भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्सनकारीमाथी भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
टिप्पणीहरू