भीम रावलको सोधाई : कसका निम्ति यो दमन ?
एमाले नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीविरुध्द भएको सडक प्रदर्शनमा प्रहरी प्रशासनले गरेको बल प्रयोगप्रति आपत्ति जनाउनुभएको छ । हिजो बानेश्वर क्षेत्रमा एमसीसीविरुद्ध उत्रिएका विभिन्न दलका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको थियो।
रावलले देशको पक्षमा आवाज उठाउने जनताले गरेको देशभक्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेर पाशविक दमन गरिएको भन्दै आपत्ति प्रकट गर्नुभएको हो । राष्ट्रिय स्वाधिनता,हित र स्वाभिमानको पक्षमा आवाज बुलन्द गर्नेहरुमाथि पाशविक दमन गर्न आदेश दिनेहरु कसको स्वार्थमा काम गर्दैछौ ? भनेर उहाँले सरकारलाई प्रश्न पनि गर्नुभएको छ ।
राष्ट्रिय स्वाधीनता,हित र स्वाभिमानको पक्षमा आवाज बुलन्द गर्नेहरुमाथि पाशविक दमन गर्न आदेश दिनेहरु कसको स्वार्थमा काम गर्दछौ ?’, रावलले प्रश्न गर्नुभयो, ‘देशको पक्षमा आवाज उठाउन नपाउने ? तानाशाही दमन बन्द गर !’ स्मरण रहोस्,एमसिसीविरुध्द सँसदमा हिजो रावललाई बोल्न दिएको भन्दै एमालेले सभामुखसङ्ग किन यसो गरेको भनेर आपत्ति पनि जनाएको थियो ।

रावल लामो समयदेखि एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित अनुकूल नभएकाले फिर्ता गर्नुपर्ने पक्षमा वकालत गर्दै आइरहनुभएको छ । सरकारले हिजो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा पेश गरेपछि उहाँले संसदमा पनि चर्को आलोचना गर्नुभएको थियो । जनताले सडकबाट बिरोध गरिरहेको र राजनीतिक दलहरुबीच पनि सहमति नभएकाले एमसीसी पेश गर्न नहुने उहाँको धारणा थियो ।
प्रतिनिधिसभामा एमसीसी टेबल हुँदै गर्दा सत्ता गठबन्धनकै माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु संसद भवन बाहिर चर्को बिरोध प्रदर्शन गरिरहेका थिए । प्रदर्शनका क्रममा झडप भएको थियो । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा,अश्रुग्याँस,रबरका गोली प्रहार गरेको थियो । जसका कारण दर्जनौँ प्रदर्शनकारी घाइते भएका थिए ।
टिप्पणीहरू