एमाले अझै केही पनि नबोल्ने
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसीको संसदीय अनुमोदनबारे अहिले नै धारणा नबनाउने बताएको छ । संसदमा आफूहरुले राखेको माग सम्बोधन नहुँदासम्म एमसीसीबारे नबोल्ने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका हुन् ।
एमालेले माधवकुमार नेपालसहित एकीकृत समाजवादीका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसदको अवरोध कायमै राख्ने बताइसकेको छ । भट्टराईले यसबीच बैठकमा पेश हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने पनि प्रष्ट पारे ।
‘संसदमा निकास निस्किएपछि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्धमा निर्णय लिन्छौं,’ उनले भने । एमालेले संसद सचिवालयमा एमसीसी दर्ता गराए पनि नेपाली काँग्रेस र माओवादी केन्द्रले कार्यान्वयनको लागि सम्झौता गरेकाले एमालेको भूमिका कम हुने उनले बताए ।
एमालेले यसअघि सरकारले एमसीसी संसदमा पेश गरेको एक घण्टामा धारणा बनाउने बताउँदै आएको थियो । सरकारले हिजो एमालेको अवरोधका बीच संसदमा एमसीसी टेबल गरेको छ । तर, एमाले भने पुरानै नबोल्ने नीतिमा अडिग देखिन्छ ।
टिप्पणीहरू