पाठ्यक्रमको समयसापेक्ष परिमार्जन र निर्माण आवश्यक : शिक्षामन्त्री पौडेल
अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका नवीनतम विषयहरुको अध्ययन, अध्यापन र अनुसन्धानको दायराभित्र पर्ने गरी समयसापेक्ष पाठ्यक्रमको परिमार्जन र निर्माण गर्नुपर्ने आवश्यकता रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १३ औं सभामा मन्त्री पौडेलले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
सह–कुलपतिका हैसियतले मन्त्री पौडलले ‘विश्वविद्यालयको गुणस्तर सुधार्नको लागि विद्यालयस्तरको पठन पाठनमा सुधार आवश्यक रहेको,’ दाबी गर्दै भन्नुभयो, ‘गुणस्तर सुधारका लागि विश्वविद्यालयमा गुणस्तरीय पठनपाठन मार्फत् योग्य शिक्षक उत्पादन गर्न सक्नुपर्दछ ।’
बौद्ध शिक्षा विकास सम्बन्धमा विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रमहरु विस्तार गर्दा प्रचलित कानुन र नियमका अतिरिक्त बौद्ध दर्शन, कला, साहित्य, शिक्षा, नैतिकता र संस्कृति जस्ता बहुआयामिक विषयहरुलाई समावेश गर्न उहाँको आग्रह छ ।
ज्ञानलाई सीपसँग, सीपलाई रोजगारीसँग र रोजगारीलाई समृद्धिसँग जोड्ने गरी विश्वविद्यालयको पाठ्यक्रम तथा शैक्षिक क्रियाकलापहरु निर्देशित हुन जरुरी रहेको धारणा मन्त्री पौडेलले व्यक्त गर्नुभएको हो ।
मुलुकका ११ विश्वविद्यालयमा ६ लाख विद्यार्थी अध्ययन गर्ने र लुम्बिनी बौद्ध विश्वविद्यालय एउटा विशिष्टकृत विश्वविद्यालय भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारको विश्वविद्यालय भएको उहाँको दाबी छ । यो विश्वविद्यालयले विश्व समुदायलाई शान्तिको सन्देशसहित बौद्ध शिक्षा विस्तार गर्ने र मुलुकका लागि दक्ष, सीपयुक्त र नैतिकवान जनशक्ति उत्पादन गर्दै आएको बताइएको छ ।
टिप्पणीहरू