नजिकको नाताबाटै दमकका सिग्देलको क्रुर हत्या !

नजिकको नाताबाटै दमकका सिग्देलको क्रुर हत्या !

सुनसरीमा मानव शवका टुक्रैटुक्रा हालिएको झोला फेला परेको छ । हिजोसम्म मृतकको पहिचान नखुले पनि उक्त शव झापाका दिपक सिग्देलको भएको तथ्य खुलेको छ ।

शवको टुक्रा हालिएको झोला धरान–भेडेटार सडक खण्डको जंगलमा भेटिएको थियो । घटनाको प्रकृतिअनुसार अनुसन्धान जटिल भएको प्रहरी स्रोतले बताएको छ ।

पुरुष शरीरलाई घाँटीभन्दा माथि टाउकाको भाग र तिघ्रामुनिको दाहिने खुट्टा प्याक गरेर फ्यालिएको एउटा झोला गत बुधवार जंगलमा भेटिएको हो । बिहीबार शरीर र अन्य अंगहरु प्याक गरिएको अर्को झोला बुधवार भेटिएको स्थानभन्दा निकै पर फेला परेको थियो ।

सनाखतको लागि टुक्रा बनाइएका शवलाई जोडेर पुरुषको अनुहार र उनले लगाएका कपडा प्रष्टसँग देखिने स्केच सार्वजनिक गरिएको थियो । तर उनको हत्या परिवारभित्रको नजिकको व्यक्तिले योजना बनाएर गराएको बुझिएको छ ।

स्केच सार्वजनिक भएपछि कुहिएको अवस्थामा टुक्रा टुक्रा फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दिपक सिग्देलको भएको प्रहरीले जानकारी पाएको हो ।

दाजुको घर जान भनेर हिँडेका सिग्देलको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । हत्यामा संलग्नमध्ये एक जना सिग्देलको परिवारभित्रकै नजिकको नाता भएका व्यक्ति रहेको आशंका गरिएको छ । अर्का एक जना भने नजिकका नातेदारका साथी हुन् । हत्याको कारण धन सम्पत्ति वा यौन सम्बन्धमध्ये कुनै एक हुनसक्ने प्रहरी स्रोत बताउँछ । घटनाको प्रारम्भिक अनुसन्धान आजै इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गर्ने योजना बनाइरहेको छ ।

टिप्पणीहरू