औषधि पसलको साइनबोर्ड झुण्डाएर लागुऔषधको कारोबार
बाहिर औषधी पसलको साइनबोर्ड भित्र लागुऔषधको कारोबार गर्ने दुई व्यापारी र सात जना दुव्र्यसनीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेडिकल सञ्चालक सुन्दरहरैचा नगरपालिका–१० का ४५ वर्षीय सुुशिल काफ्ले र निजकी श्रीमती ३२ वर्षीया गोमा कार्की छन् ।
त्यसैगरी सेवनकर्ताहरु सुन्दरहरैचा–१ का २३ वर्षीय सनम खवास, सुन्दरहरैचा–१० का ३० वर्षीय अरुण राई, ३५ वर्षीय सनम तामाङ, सुन्दरहरैचा–९ का २४ वर्षीय सुवास राई, २२ वर्षीय जुसन सुनाम, ३१ वर्षीय निमेस परियार र ३४ वर्षीय अनुप खड्का रहेका छन् ।
व्यापारीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–१० बिराटचोकमा नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टर सञ्चालन गर्दै आएका छन् । दुवै मेडिकल पसलबाट प्रहरीले स्पास्पेन ४४ हजार ३ सय ७०, एन्टीकोफ १७ हजार ६ सय २०, नियुरिन ७५ नामको १८ हजार ९ सय २३ चक्की, प्रीजेड ७५ को चक्की १२ हजार, अपाबलिन ७५ जेड १४ हजार ६ सय, जेड ७५ नामको लागुऔषध १४ हजार ६ सय चक्की बरामद गरेको छ ।
प्रदेश नम्बर १ मा भेटिएको यो लागुऔषधको अहिलेसम्मकै ठूलो परिणाम हो । अनधिकृत रुपमा दुव्र्यसनीमा लागेका व्यक्तिहरुलाई औषधि बिक्री वितरण गर्ने दुवै मेडिकल सञ्चालकविरुद्ध कानुनी कार्वाहीको निम्ति थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
दुवै व्यापारीविरुद्ध चिकित्सकको अनुमति बिना अवैध रुपमा महंगो मूल्यमा लागूऔषध दुव्र्यसनीमा लागेका व्यक्तिहरुलाई औषधि अनाधिकृत बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा आरआइटीले र इलाका प्रहरी कार्यालय बेलबारीले हिजो बेलुकी छापा मारेको थियो ।
टिप्पणीहरू