बालकोटमा बालकृष्णलाई ओलीले भन्नुभो– ‘एमसीसीमा सघाउछौँ, एमालेलाई न्याय चाहियो’

बालकोटमा बालकृष्णलाई ओलीले भन्नुभो– ‘एमसीसीमा सघाउछौँ, एमालेलाई न्याय चाहियो’

हर हालतमा एमसीसी पास गराउन लाग्नुभएका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा सत्ता सहयात्रीहरुको साथ नपाउने बुझेपछि प्रमुख प्रतिपक्ष एमालेलाई फकाउन लाग्नुभएको छ । भोलिको संसद बैठकबाटै एमसीसीलाई निश्कर्षमा पुर्याउने तयारीमा लाग्नुभएका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षका नेताहरुसँग निरन्तर छलफल र भेटघाट गरिरहनुभएको छ ।

हिजो एमाले अध्यक्ष ओलीलाई बालुवाटारमै भेटेर एमसीसीमा समर्थन खोज्नुभएका देउवाले आज आफ्नो दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँणलाई भेटघाटमा खटाउनुभएको छ । सोहीअनुसार बिहानैदेखि गृहमन्त्री खाँणको दौडधुप बढेको छ । बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकोट पुग्नुभएको थियो ।

हिजो देउवासँगको बालुवाटार भेटमा भएको अनौपचारिक सहमतिलाई औपचारिकता दिन गृहमन्त्री खाँण बालकोट गएको चर्चा छ । तर, आज पनि ओलीले पूरानै अडान राख्दै ‘एमसीसीमा एमाले प्रष्ट छ’ भनेर अमूर्त जवाफ दिनुभएको बताइएको छ । बताइएअनुसार ओलीले एमसीसीको विषयमा एमाले स्पष्ट रहेको तर, त्यसका लागि काँग्रेसले गठबन्धन तोड्नुपर्ने र सभामुख फेर्नुपर्ने पूरानो अडान यथावत रहेको सन्देश दिनुभएको थियो ।

‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंले भेटवार्ताबारे भने, ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने देउवाको तयारी छ । तर, सत्तारुढ पाँच दलमध्ये काँग्रेसमात्र एमसीसी अनुमोदन गर्ने पक्षमा देखिएको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।

एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकोमा पठाउनुभएको हो । ‘संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ । कानून सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन । हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं,’ एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाँणलाई भन्नुभएको थियो ।

गृहमन्त्रीले आज एकाबिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि खुमलटार पुगेर भेटवार्ता गर्नुभएको थियो ।

टिप्पणीहरू