प्रतिनिधिसभा बैठकको भोलिपल्ट एमसीसीबारे प्रज्ञा भवनमा छलफल हुने

प्रतिनिधिसभा बैठकको भोलिपल्ट एमसीसीबारे प्रज्ञा भवनमा छलफल हुने

नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरुले एमसीसी बहस संचालन गर्ने भएका छन् । प्रतिनिधिसभामा टेवल भएको एमसीसी प्रस्तावको पक्ष-विपक्षमा जनमत विभाजित भएका बेला उनीहरुले पर्सि शुक्रबार दिउँसो दुई बजे कमलादीस्थित प्रज्ञा भवनमा बहस गराउन लागेका हुन् ।

एकीकृत समाजवादीका जनसंगठहरुका तर्फबाट आज जारी सूचनामा बहसमा भाग लिन आह्वान गरिएको छ । साथै, उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिदिन सञ्चार गृह र सञ्चारकर्मीहरुलाई अनुरोध पनि गरिएको छ ।

एकीकृत समाजवादी भने एमसीसीको विपक्षमा छ । सो पार्टीले संसदमा टेवल भएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ भने भातृ संगठनहरु आन्दोलनमा छन् ।

सत्ता गठबन्धन जोगाउन एमसीसीमा बिचको बाटो खोज्ने विकल्पमा समेत पार्टीका नेताहरु छलफलमा जुटेको भनिएका बेला भातृ संगठनहरुले सरोकारवालाहरुलाई राखेर बहस गर्न लागेका हुन् ।

प्रतिनिधिसभाको बैठक भोलि अपरान्ह बस्दैछ । बैठकबाट एमसीसी पारित गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । त्यसका लागि प्रधानमन्त्रीले प्रतिपक्ष एमालेसङ्गको छलफललाई तीब्रता दिनुभएको छ भने गठबन्धन दलका नेताहरुसँग पनि कुराकानी गरिरहनु भएको छ ।

एमसीसीको संसदीय अनुमोदनलाई लिएर सत्तारुढ दल माओवादी केन्द्र विपक्षमा छ भने प्रतिपक्ष एमाले पक्षमा भएपनि धारणा सार्वजनिक गरिसकेको छैन ।

टिप्पणीहरू