हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढ्दो

हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढ्दो

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रसुवाले तयारी थालेको छ । निर्वाचनको प्रक्रियाअन्तर्गत कार्यालयले प्रारम्भिक चरणका कार्यक्रमहरु सुरु गरेको हो ।

निर्वाचनको तयारीस्वरुप जिल्लामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरि मतदाता नामावली अद्यावधिक (दाबी बिरोधसमेत) का कार्यक्रम प्रारम्भ गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

त्यसका लागि जिल्लाका पाँच वटै गाउँपालिकामा मतदाता नामावलीको विवरण पठाइसकिएको छ । मतदाता नामावलीको विवरण यही फागुन १९ गते पाँच वटै गाउँपालिकाका २७ वटा वडामा प्रकाशित गरिने छ ।

मतदाता नामावली अद्यावधिकका लागि फागुन २० देखि २२ गते तीन दिन तोकिएको छ । सो अवधिमा मतदाताहरुले अनुसूची फारममा आफ्नो नामावलीमा भएको विवरण सच्चाउन सकिने बताइएको छ ।

मतदाता नामावली अद्यावधिक कार्यक्रममा मृत्यु भएका, बसाईंसराई गरि गएका, विवाह दर्ता भएका, दोहोरो नाम भएकाहरुको नामावली अद्यावधिक हुने बताइएको छ ।

‘प्रकाशित भएको मतदाता नामावलीमा सच्चाउनुपर्ने, हटाउनुपर्ने, दाबी विरोध गर्न सकिन्छ, यसका लागि तीन दिनको समय छ, अनुसूची फाराम भरेर सच्चाउन सकिन्छ, थापाले भने, अद्यावधिकमा आएका विवरणहरु निर्वाचन कार्यालयमा प्राप्त भएपछि अध्ययन गरि नाम सच्चाएको, हटाएकोबारे सूचना निकालेर २६ गते निर्वाचन आयोगमा पठाउँछौं ।’

त्यसैगरि मतदाता परिचयपत्र हराएकाको हकमा भने वडाको सिफारिस, नागरिकताको प्रतिलिपी र निवेदन निर्वाचन कार्यालयमा दिन सकिने जनाइएको छ । त्यसका लागि यही फागुन २० गतेभित्र निर्वाचन कार्यालयमा प्रत्यक्ष उपस्थित भई तथा इमेल मार्फत् निवेदन दर्ता गराउन सकिन्छ ।

त्यसैगरी कार्यालयले निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिसकेको जनाएको छ । यसअघि जिल्लामा ५२ वटा मतदान केन्द्र र ३४ वटा मतदानस्थल निर्धारण गरिसकेको थापाले बताए ।

२०७८ माघ २४ गतेसम्म संकलन भएका मतदाता नामावलीअनुसार रसुवामा ३८ हजार ७ सय जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

टिप्पणीहरू