मान्छे कतिसम्म पशु बन्न सक्छ !
दुर्गम भेगतिर देखिनेभन्दा पनि खतरनाक र अपत्यारिला घटनाले काठमाडौंपछि सुगम मानिने मोरङलाई आक्रान्त पारेको छ । बलात्कारका घटना छ्यापछ्याप्ती भइरहने मोरङमा यस पटक कञ्चनपुरकी निर्मला पन्तको जस्तै दर्दनाक घटना दोहोरिएको छ । मोरङको लेटाङमा यसै हप्ता स्कुलबाट फर्कदै गरेकी एक बालिकाको बलात्कारपछि विभत्स हत्या भएको छ ।
लेटाङ ८ जाँते बजारमा रहेको जाँते माविमा अध्ययनरत ११ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको हो । गत बुधबार विद्यालयबाट घर फर्किने क्रममा बाटैमा हराएकी लेटाङ ८ ज्यामिरेकी राई शुक्रबार बिहान भेटिइन् तर मृत र नाङ्गो अवस्थामा ।
करुणाको बलात्कार अनि हत्या गरेको स्वीकार्ने लेटाङ ८ कै ६३ वर्षीय दिपक गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनले बुधबार ५ बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलात्कार गरेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शव शुक्रबार बिहान लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र केराको झ्याङभित्र नाङ्गो अवस्थामा भेटिएको थियो ।
प्रहरीका अनुसार नाति नातिना खेलाउनुपर्ने उमेरका गिरीले नातिनी सरहकै करुणालाई बलात्कारपछि मुख थुनेर हत्या गरेको र त्यसपछि ढुङ्गाले थिचेर हिँडेको बयान दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट गिरी मात्र संलग्न देखिएको तर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले बताए ।
एक महिना अगाडि श्रीमतिको मृत्यु भएपछि एक्लै बस्दै आएका गिरीले घरदेखि करिब एक किलोमिटर दक्षिणमा बालिकाको करणी र पछि हत्या गरेका थिए ।
बालिकाको बलात्कारपछि हत्या भएको बिरोधमा अपराधीलाई कडा कारबाही गर्न माग गर्दै हिजो विद्यार्थी र स्थानीयले लेटाङमा बिरोध प्रदर्शन गरेका छन् । लेटाङ प्रदेशसभा सदस्य तथा प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरे र संघीय सांसद घनश्याम खतिवडाको गृहनगर हो ।
नजिकै माथिल्लो कक्षा अध्ययन गर्ने विद्यालय नहुँदा करुणा कक्षा ६ अध्ययनको लागि २ घण्टा पैदल गरेर जाँते पुग्थिन् । स्थानीय स्तरमा माध्यमिक तहको विद्यालय नहुँदा र टाढाको स्कुलमा पनि छात्रावासको व्यवस्था नहुँदा करुणा मात्र होइन, उत्तरी मोरङका धेरै बालबालिकाहरु जोखिम मोलेर शहरसम्म पुगेर शिक्षा आर्जन गर्नुपर्ने बाध्यतामा रहेकोे लेटाङका सञ्चारकर्मी सुरेश अधिकारी बताउँछन् ।
त्यसो त मोरङमा बलात्कार र हत्याका अरु पनि घटना नभएका होइनन् । दुई महिना अघि मोरङ बेलबारीकी एक महिलामाथि इटहरी नजिकै एक होटलवालासहित तीन जनाले अपहरण गरि होटलमा पुर्याएर सामूहिक बलात्कार गरेका थिए ।
महिलालाई कसैलाई भने मारिदिने धम्की दिइए पनि तत्काल महिला संयमित बनेका कारण थप अपराध हुन भने पाएको थिएन । तीनै जना बलात्कारीलाई अघिल्लो साता जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल पठाइसकेको छ ।
मोरङकै भोगटेनीमा एक किशोरीमाथि एउटा अपरिचित लठुवाले बेहुली नै बनाउँछु भन्दै कही वर्षअघि करणी गरेको थियो । गर्भवती बनाएर हिँडेको पापी बेपत्ता भए पनि जन्मेको शिशु स्याहार्दै हुर्काएर ती महिला अहिले पनि माइतमै बसिरहेकी छन् ।
त्यसबेला जन्मेको शिशु अहिले जवान भइसके पनि बाबुको अत्तोपत्तो छैन । भोगटेनी त्यस्तो ठाउँ हो, जहाँ एकै परिवारका तीन जना र भएभरका गाईबस्तु अनि बाख्रासहितका चौपायालाई घर गोठमै थुनेर जिउँदै आगो लगाइ मारेको करिब दुई दशक बित्दा पनि कोही पक्राउ परेका छैनन् ।
– अम्बिका भण्डारी
टिप्पणीहरू