पोखरामा केपीको आरोप,काठमाण्डौमा झलनाथको जवाफ
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गर्नुभएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्घमा हिजो प्रज्ञा भवन कमलादीमा नेकपा एकीकृत समाजवादी सम्बद्ध जनसंगठनद्वारा काठमाडौंमा आयोजित एमसीसीबिरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरुले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै उक्त कुरो सरासर झुठो भएको उल्लेख गर्नुभयो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजै पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै झलनाथ खनालले प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर पत्र लेखेको बताउनुभएको थियो । ओलीले भन्नुभयो ‘एमसीसीमा निवेदन हाल्ने झलनाथ खनाल हिँड्दा ताली पिट्छन्, म हिँड्दा ढुंगा हान्छन् ।’
ओलीले एमसीसीको विरोधमा राजधानीमा भएको प्रदर्शनमा आफूहरुमाथि ढुंगा हान्ने तर एमसीसीका लागि निवेदन दिने झलनाथ खनाललगायतले भने ताली पाउने गरेको दुःखेसो कार्यकर्तालाई सुनाउनुभएको थियो । ओलीको उक्त आरोपलगत्तै खनालले राजधानीमा आयोजित कार्यक्रममार्फत ओलीलाई चुनौतीसहितको जवाफ दिनुभएको हो । उहाँले एमसीसीका लागि लेखेको भए त्यस्तो पत्र सार्वजनिक गर्न चुनौती दिनुभएको छ ।

उहाँले छिमेकी मुलुकहरुलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नुपर्ने दिन आउन सक्ने भन्दै सजगता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले छिमेकी देश चीन र भारतकाविरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
नेता खनालले भन्नुभयो, ‘दुई तीन दिनअघि मात्रै युक्रेन भन्ने देश सिंगो थियो, तर अहिले विभाजित भएर तीन वटा देशमा परिणत भएको छ, आक्रमण भइरहेको छ । युक्रेन रुसको अत्यन्त संवेदनशील छिमेकमा रहेको छ । तर छिमेकमा भएको सरकारले लगातार आफूलाई पश्चिमाहरुसँग सम्बन्ध राख्न खोज्ने नेटोको सदस्य बनाउन माग गर्दै लगातार रुसलाई उत्तेजित बनाउँदै गयो ।’
खनालका अनुसार हामी स्वतन्त्र देश हौं, असंलग्न परराष्ट्र नीति लिन्छौं भनेको भए युक्रेनले आजको दुर्दशा भोग्नुपर्ने थिएन । यो घटनालाई नेपालले पनि राम्रोसँग मनन गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
टिप्पणीहरू