चुनावको मुखमा जन्मियो नयाँ वकिल सँगठन

चुनावको मुखमा जन्मियो नयाँ वकिल सँगठन

नेकपा (एकीकृत समाजवादी) मा आवध्द वकिलहरुले समाजवादी पेशागत कानुन व्यवसायी संगठन (एसपीएलए) गठन गरेका छन् । हिजो भएको राष्ट्रिय भेलाले देवेन्द्र सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति गठन गरेको छ । पार्टी विभाजनलगत्तै अरु संगठनहरु विभाजन भए पनि वकिलहरुको संगठन भने विभाजन नगर्ने भनी एसपीएलए गठन गरिएको अधिवक्ता रामकुमार खतिवडाले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको भेलाले एसपीएलएको वरिष्ठ उपाध्यक्षमा दुर्गामोहन श्रेष्ठलाई चयन गरेको छ भने उपाध्यक्षहरुमा विष्णुहरि सापकोटा,श्यामानन्द चौधरी,प्रमोद शाह,विष्णुप्रसाद सापकोटालगायत छन् ।

महासचिवमा अम्बरबहादुर राउत चयन भएका छन् भने सचिवहरुमा गोपाल श्रेष्ठ,गुनराज आचार्य,विजय बस्नेत,शिव भुजेल,बुध्दिप्रसाद खरेललगायत छन् । समितिको कोषाध्यक्षमा नारायणप्रसाद पराजुली चयन भएका छन् ।

आउँदो चैत १९ गते हुने नेपाल बारको चुनावलाई प्रभावित पार्ने गरी एसपीएलएले संगठन विस्तारलाई तीव्रता दिने तयारी गरेको छ । राष्ट्रिय भेलामा वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको छ । नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले पनि एसपीएलएलाई साथ दिएका छन् ।

टिप्पणीहरू