आजको युगलाई चाहिएको नयाँ वीरबल

आजको युगलाई चाहिएको नयाँ वीरबल

अधिवक्ता प्रेमराज सिलवाल

हिन्दीमा एउटा कहावत छ ‘गाँवको जलना भि हे, और उस पर मातम मनाना भि हे ।’ एमसिसी ल्याउने चाहना छ र साथसाथै जनतालाई दिग्भ्रमित पार्न यो बेठिक हो भन्न पनि परेको छ । यस्तो अन्त त चल्दैन । जे हो त्यो नभन्ने र जे होइन त्यो भन्ने । तर, सत्य त सत्य नै हुन्छ । सुन्तलालाई स्याउ भनेर जति चिच्याए पनि त्यो सुन्तला नै हुन्छ, स्याउ हुन सक्दैन । यदि, एमसिसी हाम्रो राष्ट्रिय हितमा छ भनेर अहिले जतिसुकै चर्को स्वरमा भने पनि भोलि हाम्रै कालमा अहितमा रहेको देखिने नै छ ।

महाकालीबाट हुने आम्दानीको हिसाब जनताले खोजीगरे भने बुझाउन मुश्किल मात्रै होइन कि त्यो असम्भव छ । धन्न, कसैले मागेको छैन र पो त ! महाकालीबाट त्यो आम्दानी भएन, किनभने त्यो नहुने कुरा नै सत्य हो । एमसिसीको हालत पनि महाकालीको हिसाबभन्दा फरक हुनेछैन । किनभने विदेशलाई सस्तोमा बेचिने बिजुलीबाट कति आम्दानी होला र जनताको, देशको आर्थिक विकास हुनु ? लाटो सोझोले पनि सहजै अनुमान गर्न सकिने कुरा हो ।

हिजो र आज उस्तै छन् त दलहरू ?

हाम्रा राजनीतिक दल आफूहरूले आफ्नो स्थापना कालमा लिएको लक्ष्यअनुसार नै आज पनि चलिरहेका छन् ? शुरुवाती लक्ष्यअनुसार नै काम गरिरहेका छन् ? अथवा तिनीहरूले त्यो लक्ष्यलाई छाडिसके वा बिचलित भइरहेका छन् ? जवाफ खोज्नुपर्ने देखिन्छ । किनभने यसको जवाफबाट कुन दल कसरी आफ्नो लक्ष्यबाट बिचलित भइरहेको छ, कुन दल लक्ष्य छाडेर अर्कै गन्तव्यतर्फ हिँडिरहेको छ भन्ने बुझिन्छ । यो कुरा बुझेपछि जनतालाई आफूले कुन दललाई चुन्ने, कुन नेतालाई चुन्ने भन्ने कुराको निर्णय गर्न सजिलो हुन्छ ।

के एमाले ००६ सालमा स्थापित कम्युनिष्ट पार्टीको चरित्र र लक्ष्य बोकेर हिँडिरहेको छ ? आजको एमाले र त्यो बेलाको नेकपा उस्तै हो ? किनभने पुष्पलाललाई नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य विचारक, सिद्धान्तकार मान्छ एमालेले ।

यसैगरी विपीले अघि सारेको प्रजातान्त्रिक समाजवादको बाटोमा नेपाली कांग्रेस हिँडिरहेको छ त ? कांग्रेसलाई समाजवादी भन्न सकिन्छ त आजको दिनमा ? कांग्रेसले पनि बिपीलाई मार्गदर्शक मान्छ, सिद्धान्तकार मान्छ । अहिले राजालाई फालेर राजाकै जस्तो दरबारमा बस्ने नयाँ राजाजस्ता सोसलिष्ट नेताहरूको काँधमा राजकाजको जिम्मा गएको छ ।

जनताको समस्याको कुरा, न्याय र समानताको कुरा यिनीहरूबाट सुनिन छोडेको छ । उद्योगपति, ठेकेदार र ठूला व्यापारी, बिचौलियामैत्री छन् सबै । यिनको कोटाबाट को पर्छन् लाभको पदमा बताउनु पर्दैन । यो त खासमा जात्रै हो । तर, यस्तो जात्राले धेरै समयसम्म मनोरञ्जन दिन सक्दैन भन्ने कुराको हेक्का हुनु जरुरी छ । आजको युवापुस्ता लगभग डिपोलिटिसाइज भइसकेको छ ।

राजनीतिक एउटा अर्को ठूलो समूह पनि समाजमा पैदा भइसकेको छ जो राजनीतिमा उतिसाह्रो रुचि राख्दैन । सुशासन, पारदर्शिता र जिम्मेवारी खोज्ने जमात हो र यसको चरित्र परिणाम हेर्ने किसिमको छ । यी दुबै खाले वर्गले दल र नेताका कामको रिपोर्ट कार्डको अध्ययनबिना तिनलाई समर्थन गर्दैनन् भनेर भन्न सकिन्छ । यदि, यस्तो भयो भने अहिलेको नेतृत्वको हालत के होला ? समय छँदै सुध्रिइएन भने समयले पछाडि नै छाड्नेछ । जब जागा, तब सबेरा भन्छन् !!!अरु भन्ने कुरा त के नै छ र ?

वीरबल कसरी वीरबल बने ? कथा यस्तो छ–ठूलो समस्यामा परेर एउटा नागरिक समस्या बताउन बादशाहको दरबारमा गएछ । दरबारको चलन के भने पिरमर्का परेर सुनाउन आउनेलाई उसको कुरा सुनिसकेपछि फर्किने बेला बादशाहबाट केही कुरा बक्सिस्स्वरूप केही कुरा दिने । यस्तो चलन छ भन्ने कुरा दरबारको गेटमा ड्युटीमा खटिएका सिपाहीलाई थाहा हुने नै भयो ।

गुनासो लिएर आउने जोसुकैलाई भित्र पठाउनुअघि गेटको पालेले एउटा शर्तमा मात्रै बादशाहकहाँ खबर पु¥याइदिने कुरा गर्दोरहेछ । उसलाई पनि त्यही भनेछ, म तिमीलाई भित्र जान अनुमति त दिलाउनेछु तर त्यसबापत प्राप्त बक्सिसको आधा हिस्सा मलाई दिनुपर्नेछ । यस्तो शर्त सुनेर त्यो नागरिक बडो असमञ्जसमा परेछ के गर्ने–गर्ने भनेर । हुन्न भनौं भने भित्र जानै नपाइने, समस्या भन्नै नपाइने । हुन्छ भनौं भने आफूले पाउने बक्सिस बाँड्नुपर्ने । अन्त्यमा उसले हुन्छ भनेछ र दरबारमा प्रवेश पाएछ ।

समस्या सुनेपछि बादशाहले सोधेछन्– तिमीलाई हामी बक्सिस दिन्छौं, भन के चाहिन्छ ? त्यो नागरिकले भनेछ– महाराज, बक्सिसस्वरूप मलाई ५० कोर्रा हानियोस् ! उपस्थित बादशाहका मन्त्री, सेनापति र सल्लाहकार सबै अक्क न बक्क भए यस्तो अनौठो माग सुनेर । अन्तमा उसलाई सोधियो– तिमीले बक्सिसमा हीरामोती नमागेर किन कोर्रा मागेको ? तिमी ठीक त छौ ? उसले जवाफ दिएछ– महाराज, मैले पाएको इनामको आधा हिस्सा गेटको पालेलाई दिनुपर्ने शर्तमा प्रवेश पाएको हुँ ।

त्यसकारण आधा इनाम बाँड्नको निम्ति मलाई कोर्रा नै चाहिन्छ । हाम्रोमा यसरी भ्रष्टाचार गर्ने, घुस खाने, जनतालाई ठग्ने गल्ली गल्लीमा भेटिन्छन् र तिनैले जननिर्वाचित बादशाहहरूलाई घेरेका छन् । सुशासन, पारदर्शिता र जिम्मेवारी कुन चराको नाम हो भन्नुपर्ने अवस्था छ । वाइडबडी, ओम्नी, यतिजस्ता विवादास्पद कुरा सार्वजनिक भए तर बादशाहले के हो भनेर कतै सोधपुछ वा छानबिन गरे त ? कारबाहीको त कल्पनासम्म गर्न सकिन्न ।

जनताको समस्या पनि शासकलाई अवगत गराउने र भ्रष्ट, घुस्याहालाई दण्ड दिलाउनको निम्ति आफूले समेत दुःख झेल्न तयार हुने यस्तो नागरिकलाई देखेर उसलाई दरबारमै बस्न आग्रह गर्दै नाम वीरबल राखिदिए । यहाँ न यस्तो सल्लाहकार चाहने शासक छ न त जनताको हितमा काम गर्न आफूले दुःख सहन हिम्मत गर्ने कार्यकर्ता, बुद्धिजीवी तथा सल्लाहकार नै छन् ।

के हाम्रा नेताले नयाँ वीरबल भेट्टाउन सक्लान् त अथवा वीरबल बन्ने ल्याकत राख्ने बुद्धिजीवी वा सल्लाहकार कोही भेटिएला यहाँ ?

टिप्पणीहरू