अमेरिका र चाइना नेपालमा फेरि आमनेसामने

अमेरिका र चाइना नेपालमा फेरि आमनेसामने

नेपालमा ५० करोड डलरको अमेरिकी सहायता परियोजनालाई लिएर आपसमा टकराएका दुई महाशक्ति चीन र अमेरिका फेरि आमनेसामने भएका छन् । नेपालमा एमसीसी विवाद चर्किंदा अमेरिकी अधिकारीहरुले आफ्नो नाम मुछेपछि जवाफ दिन थालेको चीनले आज तेस्रो पटक मुख खोलेको छ ।

प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित हिजो अबेर साँझ एमसीसी अनुमोदन भएकोलाई आफूहरुले नोटिसमा लिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले बताएका छन् ।

आज बेइजिङमा पत्रकार सम्मेलन गरी उनले चीनले बारम्बार जोड दिँदै आएको प्रसङ्ग स्मरण गराउँदै उनले अन्तर्राष्ट्रिय सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिध्दान्त पालना गर्नुपर्ने तथा सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘नेपालको संसदले पारित गरेको व्याख्यात्मक घोषणालाई हामीले ध्यान दिएका छौँ भन्नुको अर्थ अमेरिकालाई त्यो स्वीकार गर भनेको हुनसक्छ’,

प्रवक्ता वनपिनले अमेरिकाले तोकेको मितिको एक दिन पहिले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन हुनुमा अचम्म लागेको पनि बताएका छन् । नेपालको सार्वभौमसत्तालाई उजागर गर्दै अमेरिकी सहायतासँगै पारित भएको व्याख्यात्मक घोषणाबारे सरकारी सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको जवाफमा वेनबिनले नेपाली संसदको निर्णय र घोषणालाई ध्यान दिइएको बताए ।

‘अर्को देशको आन्तरिक मामिलामा बाहुबली कूटनीतिक हस्तक्षेप गर्नु, स्वार्थका लागि अरुको सार्वभौमसत्ता र स्वार्थमा आँच पुर्याउनु हुँदैन,’ उनले भने, ‘नेपाललाई विकासको स्वतन्त्र बाटो रोज्न बेइजिङले सधैं समर्थन गरेको छ ।’ एमसीसीले नेपाललाई भूराजनीतिक खेलमा तानेको वनपिनको भनाइ छ ।

एमसीसीलाई लिएर बेइजिङले यसअघि पनि दुई पटक आफ्नो धारणा सार्वजनिक गरेको थियो । अमेरिकाले अल्टिमेटमसहित नेपाललाई उपहार प्रदान गरेको भन्दै सहायक विदेशमन्त्री हुवा छुनयिङले नेपालमा अमेरिकालाई बाहुबली कूटनीति प्रयोग नगर्न सचेत गराएकी थिइन् ।

एमसीसीमा जोडिएको अर्को सार्क राष्ट्र श्रीलङ्कालाई समेत जोड्दै बेइजिङले एमसीसी सम्झौता अमेरिका र भारतको हितमा रहेको दाबी गरेको छ ।

चीनको पछिल्लो धारणाले संसदबाट पारित व्याख्यात्मक टिप्पणीमा उसको प्रत्यक्ष चासो देखिएको नेपाली कूटनीतिज्ञहरुले भनेका छन् । ‘नेपालको संसदले पारित गरेको व्याख्यात्मक घोषणालाई हामीले ध्यान दिएका छौँ भन्नुको अर्थ अमेरिकालाई त्यो स्वीकार गर भनेको हुनसक्छ’, एक जना पूर्वचिनियाँ राजदूतले भनेका छन् ।

टिप्पणीहरू