बाबुराम ‘जिल्लिए’,टिकट बाँड्ने अशोक राईले
जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष उपेन्द्र यावदविरुध्द मोर्चावन्दीको पटाक्षेप हुन थालेको छ । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कार्यकारी हैसियतको अध्यक्ष बनाउने संस्थापनइतर पक्षको प्रयास सफल नभए पनि यादवको अधिकार भने कटौती भएको छ ।
केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले अध्यक्ष यादवले विगतमा प्रयोग गर्दै आएको एकल अधिकार कटौती गरेर चुनावमा टिकट बाँड्ने अधिकार नेता अशोक राइलाई दिएको छ । बैठकले स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनमा अध्यक्षको अधिकार कटौती गर्दै पार्टीका केन्द्रीय बोर्ड सदस्य अशोक राईलाई दिएको हो ।
‘स्थानीय तहको निर्वाचनमा पार्टी अध्यक्षको हस्ताक्षर चल्दैन,सो हस्ताक्षरको जिम्मेवारी अशोक राईजीले पाउनुभएको छ,’ पूर्वमन्त्रीसमेत रहेका बाबुराम भट्टराई पक्षधर कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राइनले भने, ‘अब स्थानीय तहका उम्मेदवारको मनोनयन अशोकजीको हस्ताक्षरले मात्र प्रमाणित हुनेछ ।’
यसअघि चुनावमा टिकट वितरणको अधिकार अध्यक्ष यादवलाई मात्रै थियो । उनले आफ्नो हस्ताक्षर चल्नुपर्ने अडान राखे पनि बहुमत केन्द्रीय सदस्यले हस्ताक्षरको अधिकार राईलाई दिनुपर्ने अडान राखेपछि उनी पछि हटेको भट्टराई पक्षधरको दाबी छ ।
बैठकले यादव,भट्टराई र राइन नेतृत्वको केन्द्रीय बोर्ड गठन गरेको छ । ‘अब पार्टीको कुनै पनि निर्णय तीनजना बोर्ड मेम्बरले गरेपछि मात्रै आधिकारिकता पाउने छ, त्यसको जानकारी निर्वाचन आयोगदेखि सम्बन्धित निकायलाई पनि गराइने छ,’ अर्का एक केन्द्रीय सदस्यले भने ।
यसैगरी, निर्वाचन आयोगदेखि अन्य निकायसम्म आधिकारिक पत्राचार गर्नेदेखि जिम्मेवारीसम्म पनि पहिलोपटक भट्टराई पक्षधर नेताले प्राप्त गरेका छन् । भट्टराई पक्षधर गंगा श्रेष्ठ र यादव पक्षधर प्रकाश अधिकारीले निर्वाचन आयोगदेखि अन्य निकायसम्म ‘सम्पर्क व्यक्ति’ को रूपमा रहने गरी केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय गरेको हो ।
अध्यक्ष यादवले पार्टीभित्र ‘एकलौटी निर्णय गर्ने गरेको’ भन्दै ‘ भट्टराई पक्षधर ‘वार पार’को लडाई लड्ने तयारीमा थियो । एमसीसी प्रकरणले पनि विवाद चर्किएको थियो । त्यसैलाई देखाएर यादवलाई अपदस्थ गरी भट्टराईलाई नेतृत्वमा पुर्याउने कसरत सफल नभएको यादव पक्षधर एक नेताले बताएका छन् ।
सके बहुमतले हटाउने संख्या नभए पार्टी फुटाउनेसम्मको तयारीका साथ हिसिला यमीको अगुवाइमा नयाँ पार्टी दर्ता गरिएको थियो । तर, एमसीसीमा अध्यक्ष यादवले चलाखीपूर्ण ढंगले गठबन्धनका अरु दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीसंगै अन्तिम समयमा निर्णय गरेपछि भट्टराईको योजना सफल नभएको यादव पक्षका ती नेताले दाबी गरे ।
टिप्पणीहरू