चीन उडेको चार्टर जहाजमा कसरी छिरे कोरोना संक्रमित ?

चीन उडेको चार्टर जहाजमा कसरी छिरे कोरोना संक्रमित ?

काठमाडौंबाट अस्ति सोमबार चार्टर उडानमा चीनको वुहानतर्फ गएका यात्रुमध्ये ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालस्थित चिनियाँ लगानीको एउटा सिमेण्ट कारखानामा कार्यरत चिनियाँ कर्मचारी र कामदार लिएर गएका दुई वटा चार्टर विमानमा तीन सय यात्रु रहेको विमानस्थल स्रोतले बताएको छ ।

तीमध्ये ९ जनालाई त्यहाँ पुगेपछि संक्रमण पुष्टि भएको हो । नेपालस्थित हुवा सिन सिमेण्ट कारखानाका कामदार तथा कर्मचारी बोकेर उडेको उक्त जहाज दुई वर्षअघि पहिलो पटक कोरोना भाइरस फेला परेको शहर वुहान विमानस्थलमा अवतरण भएको थियो ।

चीनले कोरोना संक्रमणलाई रोक्न हरसम्भव प्रयास गरिरहेको छ । उसले संक्रमितलाई बेलैमा पत्ता लगाउँदै अरुलाई आवश्यक सतर्कता अपनाउन कडा निर्देशन दिएको छ । संक्रमण फैलन नदिन दुई वर्षदेखि कडा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गराउँदै आएको छ ।

“दुई वटा चार्टर विमानमा तीन सय यात्रु रहेको विमानस्थल स्रोतले बताएको छ ।”

यसैबीच वुहानमा हिजो मात्रै १० जनामा संक्रमण पुष्टि भएको चीनले जनाएको छ । तीमध्ये एक जना इण्डोनेसियाबाट र नौ जना नेपालबाट गएका यात्रु हुन् । हिजोसम्म त्यहाँ २८ जना स्थानीय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तीमध्ये पाँच जनामा सामान्य र २३ जनामा हल्का लक्षण देखिएको छ । हालसम्म वुहानमा ६८ हजार तीन सय ६७ जना संक्रमित फेला परेका छन् । तीमध्ये विभिन्न रोग लागेका ४५ सय १२ जनाको निधन भएको छ । ६३ हजार आठ सय आठ जना निको भएका छन् । पछिल्ला दिन कन्ट्याक्ट ट्रेसिङमा परेका ४५ सय जना आइसोलेसनमा छन् ।

टिप्पणीहरू