नरभक्षी पाटेबाघ नियन्त्रणमा, निकुञ्जमा बुझाईंदै

नरभक्षी पाटेबाघ नियन्त्रणमा, निकुञ्जमा बुझाईंदै

बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरको जंगलबाट आज बिहान साढे १० बजे बाघलाई बेहोस बनाएपछि नियन्त्रणमा लिइएको हो ।

उक्त स्थानमा बाघको आहाराका लागि १२ दिनदेखि एउटा पाडो बाँधेर राखिएको थियो ।

बाघले पाडोलाई हिजो नै शिकार गरेपछि आज बिहान नियन्त्रणमा लिन सफल भएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले बताए ।

पाडोलाई शिकार गरी खाएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता समितिलगायतको टोलीले नियन्त्रणमा लिएको हो ।

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी पछिल्लो पाँच महिनामा बाघको आक्रमणमा पाँच जनाले ज्यान गुमाइसकेका छन् । धेरै प्रयास गर्दा पनि लामो समयसम्म नरभक्षी बाघ नियन्त्रणमा लिन सकिएको थिएन । बाघलाई नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रासमा थिए ।

यसैबीच उक्त समातिएको बाघलाई बाँके राष्ट्रिय निकुञ्जको जिम्मा लगाउन आवश्यक तयारीसहित ओभरी सम्शेरगञ्ज लैजान लागिएको छ ।

टिप्पणीहरू