बालकोटको फोटो देखाउँदै तल्तिर बबाल
गत माघ २ गते कटहरियामा सम्पन्न एमाले रौतहट अधिवेशनबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा जिल्ला कमिटी आफूलाई अमान्य भएको भन्दै तत्कालीन अध्यक्ष तुलसीराज गिरीले केन्द्रीय कमिटीमा उजुर हालेका छन् ।
यता, पार्टीको जिल्ला कमिटीले मौलापुरमा आयोजना गरेको शपथग्रहण कार्यक्रम केन्द्रले तत्कालका लागि स्थगन गराइदिएको छ । एमाले रौतहटले जिल्ला कमिटी सदस्य शपथग्रहणको तयारी गरिरहेका बेला गिरीले भने गरुडामा अगुवा कार्यकर्ता भेला आयोजना गरेका छन् ।
जिल्लाको विवाद केन्द्रले समयमा नमिलाउँदा सामाजिक सञ्जालमा एकले अर्को पक्षलाई खुइल्याउने काम तीव्र रुपमा अगाडि बढेको बताइएको छ । जिल्लाको विवाद समयमै नटुंग्याएका कारण आफूहरू निराश भएको नेकपा एमाले चन्द्रपुर–४ का वडासचिव शंकर बोलखेले बताए । गिरीले आफू जिल्ला अध्यक्ष रहेको बताउँदै सामाजिक सञ्जालमा विभिन्न गतिविधि पोष्ट गर्ने गरेका छन् ।
उनले ९ औं जिल्ला अधिवेशन स्थगित भएको र आफू अध्यक्ष कायम रहेको दाबी गरिरहँदा कटहरिया सम्मेलनबाट निर्वाचित पदाधिकारीले पनि आफ्नो गतिविधिलाई तीव्र पारेका छन् । एमाले रौतहटमा दुवै समूहका नेताले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर बालकोटमा खिचेको फोटो फेसबुकमा एकपछि अर्को पोष्ट गर्ने प्रतियोगितालाई समेत तीव्रता दिएका छन् ।
पूर्वअध्यक्ष गिरी बालकोट पुगेर केपी ओलीसँग फोटो खिची फेसबुकमा हाल्नासाथ कटहरिया सम्मेलनबाट अध्यक्ष बनेका त्रिभुवन साहसहितको टोलीले पनि तुरुन्तै बालकोटको फोटो हालेका हुन् । एमालेलाई बलियो बनाउन गिरीले गरेका समानान्तर गतिविधि तत्काल रोक्नुपर्ने एमाले चन्द्रपुर नगर उपाध्यक्ष राजु तिवारीको भनाइ छ ।
नेताबीच जुँगाको लडाइँले आउँदो स्थानीय निर्वाचनमा एमालेलाई नराम्रो असर पर्ने अनेरास्ववियुका केन्द्रीय सदस्य रवि राना मगरले बताए । नेताहरूको बालकोट फोटो सेशन चलिरहेको बेला आउँदो स्थानीय निर्वाचनमा एमालेको अवस्था के हुने हो भन्दै कार्यकर्ताले टाउकोमा हात राखेका छन् ।
टिप्पणीहरू