बूढाबूढीले घर बनाएर बस्न सक्ने वृद्धाश्रम
धनसम्पत्ति छ तर बूढेसकालमा सन्तान साथमा छैनन् । नयाँ पिँढीमा विदेशमोह बढ्दो छ । विदेश जाने र उतै पलायन हुने धेरै छन् । उताबाट पैसा पठाउनुलाई नै नेपालमा रहेका आमाबाबुको सेवा हो भन्ने बुझाइ छ । तर, पैसाले मात्र के हुन्छ र ? वृद्धावस्थामा बिरामी भएर ओछ्यान पर्दा औषधि–पानीसमेत खुवाउने मान्छे नभएपछि ! कसैको भाग्यमै सन्तान हुँदैन, कसैको भएर पनि टाढिएर बस्नुपर्ने अवस्था छ ।
त्यसैले पैसा भएका तर सन्तान नभएका वा सन्तान भएपनि साथमा नभएर र सन्तानबाट अपमानित भएर एक्लै असहज, कष्टकर तथा सहाराविहीन बूढ्यौली जीवन यापन गरिरहेका वृद्धवृद्धालाई लक्षित गरी तनहुँको देवघाटधाममा सुविधासम्पन्न वृद्धाश्रम बनाइँदैछ, जसलाई ‘ज्येष्ठ नागरिक गाउँ’ नाम दिइएको छ । यहाँ रहेको जगन्नाथ शान्ति कुञ्जले दुई बिघा जग्गामा घर बनाएर बस्ने सुविधासमेत भएको वृद्धाश्रम सञ्चालनमा ल्याउन लागेको छ ।
अहिले नारायणगढ निवासी समाजसेवी दाता गौरीदेवी प्रधानको सहयोगमा एट्याच ट्वाइलेट–बाथरुमसहितको ११ कोठे संयुक्त आवास भवन, सय जनाजति अट्ने अत्याधुनिक हल र स्वास्थ्य क्लिनिक भवन बनेको छ । उनले आफ्नै लागि पनि यहाँ एउटा घर बनाइसकेकी छिन् । सञ्चालक समितिबाट किचन/डायनिङ घर, वाचनालय र एउटा संयुक्त आवास भवन पनि बन्दै गरेको कुञ्जका महासचिव भोजराज भट्टराईले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगले ५० जना वृद्ध दम्पती बस्न मिल्ने चारतले भवन बनाइदिने आश्वासन दिएको पनि उनले बताए । ६० वर्ष कटेका वृद्धवृद्धा यहाँ बस्न सक्नेछन् । यहाँ बनाइएका घरमा १५ लाख तिरेपछि एकजोडी दम्पती बस्नसक्ने र एक्लैका लागि १२ लाख तिर्नुपर्ने भट्टराईले बताए ।
आफैं घर बनाएर बस्न चाहनेलाई समितिले निःशुल्क जग्गा उपलब्ध गराउने, त्यहाँ बनाएको घरमा वृद्धवृद्धा आजीवन रहनसक्ने र उनीहरुको शेषपछि त्यो घर जगन्नाथ शान्ति कुञ्जकै हुने जनाइएको छ । यहाँ ३० वटा जति व्यक्तिगत घर बन्ने महासचिव भट्टराईले बताए । जम्मा ११० जनाजति वृद्धदम्पतीलाई सेवा दिने लक्ष्य रहेको बताउँदै भट्टराई भन्छन्, ‘पाँच वर्षे योजना हो, अहिले तीन वर्ष भइसक्यो । अबको दुई वर्षमा यो ज्येष्ठ नागरिक गाउँ पूर्णरुपमा तयार हुनेछ ।’ आगामी वैशाखबाटै मान्छे राखेर सेवा दिने तरखर भइरहेको भन्दै उनले अगाडि भने, ‘१६/१७ जना सम्पर्कमा आइसक्नुभएको छ, त्यसमध्ये पनि १० जनाजतिले बस्ने वाचा गरिसक्नु भएको छ ।’
जगन्नाथ शान्ति कुञ्जलाई नेपाल सरकारले जग्गा उपलब्ध गराएको हो । कूल रु. ६८ करोड ५४ लाखको योजना हो ज्येष्ठ नागरिक गाउँ । पार्कमै १५/१६ करोडको लगानी रहने बताइएको छ । उक्त आकर्षक पार्कमा पानीको फोहरासमेत सङ्गीतमय हुनेगरी बनाउन लागिएको भट्टराईले बताएका छन् । ‘हाम्रो जग्गाको देव्रेतिर ओशोको ध्यान केन्द्रसमेत छ, दाहिनेतिर मदन–आश्रित पार्क पनि बन्दैछ’, उनले भने, ‘ठ्याक्कै अगाडि सप्तगण्डकी नदी छ । हालै शिवरात्रीको अवसर पारेर मुक्तिनाथ मन्दिरको शिलान्यास गरियो ।’ चितवन, भरतपुरको नारायणगढ बजारदेखि १५ किमि दूरीमा यो ठाउँ पर्छ ।
‘कतिपय वृद्धवृद्धाको छोराछोरी साथमा नहुँदा मर्ने बेलामा पनि एक्लै हुनुपर्ने अवस्था आएको देखियो’, कुञ्जका अध्यक्ष शैलेन्द्रकुमार पिया भन्छन्, ‘यहाँ बस्ने वृद्धवृद्धाले बिलकुल पारिवारिक वातावरण पाउनेछन् । सबै उस्तै–उस्तै खालका मान्छेहरु सँगै बस्न पाउँदा राम्रो हार्दिकता पनि हुनेभयो ।’ उनका अनुसार स्टार होटलजत्तिकै सुविधासम्पन्न हुनेछ यो वृद्धाश्रम, एकदम वृद्धवृद्धामैत्री हुनेछ यहाँको सेवा ।
‘यहाँ शुद्ध प्राकृतिक शाकाहारी खाना खुवाइनेछ, धुम्रपान मद्यपान निषेध हुनेछ यस क्षेत्रमा । बिहान–साँझ योगा–ध्यान र भवनकीर्तन पनि हुनेछ’, पियाले भने । मान्छेले पैसा हालेर घर बनाएर बस्नसक्ने यस्तो वृद्धाश्रम नेपालमा आफूले अन्यत्र नदेखेको, नसुनेको उनी बताउँछन् । भवनहरु बनाइदिने र वृद्धवृद्धालाई खुवाउने, कर्मचारी पाल्ने कुरामा सरकारले सहयोग गर्यो भने पछि गरीब, विपन्न वर्गका वृद्धवृद्धालाई पनि राखेर सेवा दिन सकिने अध्यक्ष शैलेन्द्रले बताएका छन् ।
– अजय गोर्खाली
टिप्पणीहरू