राजर्षी जनक विश्वविद्यालयमा तोडफोड, चार विद्यार्थी समातिए

राजर्षी जनक विश्वविद्यालयमा तोडफोड, चार विद्यार्थी समातिए

जनकपुरस्थित राजर्षी जनक विश्वविद्यालयमा तोडफोड भएको छ । विश्वविद्यालयले परीक्षा सारेको विरोधमा त्यहाँ अध्ययनरत विद्यार्थीले तोडफोड गरेका हुन् ।

गत बुधबारका लागि तय भएको परीक्षा सारिएको विरोधमा वीवीए प्रमथ वर्ष पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विश्वविद्यालयको प्रशासन शाखामा तोडफोड गरेका हुन् । विश्वविद्यालयले पटक-पटक सूचना निकालेर पनि परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरिएको विद्यार्थी आनन्द सहनीले बताएका छन् ।

‘हामी परीक्षा दिन ११ बजे नै कलेज पुग्यो । तर, त्यहाँ परीक्षा स्थगित गरिएको सूचना टाँसिएको थियो । किन परीक्षा स्थगित भएको होला भन्ने जानकारी गराउन विश्व विद्यालयका कुनै व्यक्ति भेटिएन, प्रशासन शाखामा पनि कोही थिएनन् । त्यसपछि आक्रोशित विद्यार्थी नारावाजी गर्दै तोडफोड गर्न पुगे,’ उनले भने ।

६ महिनाभित्रै हुनुपर्ने समेस्टरको परीक्षा १ वर्ष बित्न लागे पनि आफूहरूले दिन नपाएको विद्यार्थीको गुनासो छ।

विद्यार्थीले प्रशासन शाखामा दराज, टेबल तथा डेस्क, बेन्च तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोड गरेको आरोपमा चार जना विद्यार्थीलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताएका छन् ।

टिप्पणीहरू