बालुवाटार छलफलमा एमाले अध्यक्षको प्रसंग

बालुवाटार छलफलमा एमाले अध्यक्षको प्रसंग

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सम्पन्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे लामो चर्चा भएको छ । समसामयिक राजनीतिको समीक्षा गर्ने क्रममा उहाँको सन्दर्भ आएको सहभागी एक जना नेताले बताए ।

‘राजनीतिक अवस्थाको समीक्षा गर्ने क्रममा एमाले अध्यक्षले फागुन १ गतेदेखि चालेको नयाँ रणनीति र षड्यन्त्रबारे सबैजसोले आफ्ना कुरा राख्नुभयो । सबै जना उहाँको खेल बारेमा आफ्नै ढंगले व्याख्या गर्दै उक्त षड्यन्त्रलाई चकनाचुर पारिएकोमा सहमत देखिए,’ती नेताले भने ।

छलफलमा सहभागी नेताहरुले आइतबार संसदबाट अनुमोदित एमसीसी सम्झौता र ब्याख्यात्मक घोषणाबारे एमसीसी मुख्यालयको रेस्पोन्सको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग जिज्ञासा राखेको बताइन्छ । जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले अधिकांश देशमा एमसीसीले रेस्पोन्स गरेको उदाहरण दिनुभएको थियो ।

बैठकमा नेताहरुबीच सत्ता गठबन्धनलाई थप बलियो बनाएर अघि बढ्नेमा सहमति भएको छ । आजको छलफलमा आगामी चुनावमा गरिने तालमेलबारे कुनै कुरो नभएको स्रोतको दाबी छ । तर चुनावमा मिलेर जानुपर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भएको थाहा भएको छ ।

बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा,सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता रामचन्द्र पौडेल सहभागी हुनुभयो ।

त्यस्तै,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल,जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

टिप्पणीहरू