म्यादी प्रहरीलाई ठूलालाई सलाम गर्ने तरिका सिकाईंदै
आगामी स्थानीय तहको चुनावमा एक लाख बढी म्यादी प्रहरी खटाइने भएको छ । साथै,यो वर्ष म्यादी प्रहरीको विगतको कार्यविधिसमेत घटाउने निर्णय भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार पहिले म्यादी प्रहरीको अवधि दुई महिनाको हुन्थ्यो भने अब घटाएर जम्मा डेढ महिनाको बनाईंदै छ ।
नियुक्त म्यादी प्रहरीको तलब भने प्रहरी जवानको बराबर हुनेछ । उनीहरुलाई पोशाक,भत्ता र खाजा खर्च उपलब्ध गराइने छ । म्यादी प्रहरीको तालिम अवधि एकदेखि दुई सातासम्म हुनसक्ने प्रवक्ता केसीको भनाइ छ ।
तालिममा म्यादी प्रहरीलाई अनुशासन र भीड नियन्त्रणबारे सिकाइन्छ । उनीहरुलाई निर्वाचन बुथको सुरक्षा कसरी गर्ने,लाइन कसरी व्यवस्थापन गर्ने,चुनावमा आफूभन्दा वरिष्ठलाई सलाम गर्ने तरिका,लौरो चलाउनेलगायतका कुराहरु सिकाइने बताइएको छ ।
अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर नआइसकेकाले म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाउन नसकिएको प्रवक्ता केसीले जानकारी दिएका छन् । यता,चुनावको मिति तय भएपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा रणनीति बनाउन निर्देशन दिएको छ ।
टिप्पणीहरू