नयाँ बर्षको दिनदेखि आइजिपी बिदा बस्ने ?
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निम्ति चुनाव घोषणा गरेको छ । चुनावी सुरक्षाको बागडोर सम्हाल्ने महत्वपूर्ण जिम्मेवारीमा रहेको नेपाल प्रहरी भने १२ दिनअगाडि १८ गते नै नेतृत्वविहीन हुँदैछ ।
अनिवार्य अवकाशमा जान लाग्नुभएका महानिरीक्षक (आईजीपी) सैलेश थापा क्षेत्री बैशाख १ गतेदेखि बिदा बस्न लागेकाले चुनावका बेला प्रहरी नेतृत्वविहीन हुने भएको हो ।
नेपाली सेनामा जस्तो प्रहरीमा अवकाशको एक महिना पहिले अनिवार्य घर बिदा बस्नुपर्ने चलन छैन । तर,आइजीपी थापाले अवकाशअघि बिदा बस्ने निर्णय गरेपछि अब नेपाल प्रहरीको अगुवाई कसले गर्छ भन्नेबारे चर्चा हुन थालेको छ ।
नियमित सरुवा-बढुवामा निर्वाचन आचारसंहिता लागे पनि अनिवार्य नियुक्ति गर्नुपर्ने महत्वपूर्ण पदहरुमा आयोगको पूर्वसहमति लिएर पदपूर्ति गर्न सकिने व्यवस्था छ । त्यसैले एआइजीमध्येबाट पहिलो वरियतामा रहेका विश्वराज पोखरेललाई निमित्त आइजीपी बनाइने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ ।
आइजीपी मात्र होइन,चुनावकै मुखमा तीन जना एआइजी पनि एकै दिन अवकाशमा जाँदैछन् । एआइजी हरि पाल,प्रधुम्न कार्की र निरज शाही बैशाख १८ गते आफ्नो पदावधि पूरा गरेर स्वभाविक अवकाशमा जान लागेका हुन् ।
नेपाल प्रहरीमा अहिले डक्टरबाहेक एआइजीको चार दरबन्दी छ । जसमा पाल,कार्की र प्रहरी प्रतिष्ठानको प्रमुख रहेका शाही घर फर्किन लागेका हुन् । दोस्रो वरियताका पोखरेललाई निमित्त आइजी बनाइए अप्रेसन बिभागमा रहेका सहकुल थापा १ नम्बर एआइजी रहनेछन् ।
यता,चुनावी कमाण्डर बनाएर प्रदेशमा खटाउन सरकारले डिआइजीको दरबन्दी थप गरेको छ । आइजीको घर बिदाकै समय पारेर केही एसएसपीलाई निमित्त डिआइजी बनाउने तयारी भैरहेको स्रोतले बताएको छ ।
त्यसका लागि एसएसपी सन्दिप भण्डारी,दिपक थापालगायतको नाम चर्चामा ल्याइएको छ । उनीहरुलाई निमित्त डिआइजी बनाएर चुनावी कमाण्डको जिम्मेवारीसहित प्रदेशमा पठाउने गरी आन्तरिक गृहकार्य भैरहेको बताइन्छ ।
चुनाव घोषणा भएदेखि मतगणना सम्पन्न नहुँदासम्मको समयलाई सुरक्षाका दृष्टिले अति संवेदनशील मानिन्छ । त्यसकारण चेनअफ कमाण्डमा दाँयाबाँया नहुनेगरी वरियताका आधारमा निमित्त तोकिनुपर्ने आवाज प्रहरीभित्र छ ।
टिप्पणीहरू