माओवादीहरु आज सभागृहमा मन माझ्दै
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक शुरु भएको छ । पूर्वनिर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सभागृहमा केही बेरअघि बैठक शुरु भएको हो । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक दुई घण्टा पछि सारिएको थियो ।
बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पदाधिकारी चयन,पोलिटब्युरो र स्थायी समिति गठनलगायत विषयमा छलफल हुने छ । ६ वटा कार्यसूचीमाथि छलफल हुने केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले बताए ।
त्यस्तै, बैठकमा एमसीसीबारे पनि छलफल हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको म्याण्डेटविपरित ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि माओवादीभित्र चर्को विवाद छ ।
विवादकै कारण माओवादी विभाजन हुने आशंकासमेत गरिएका बेला आजको बैठकमा नेता नारायणकाजी श्रेष्ठले लिखित फरक मत राख्ने तयारी गरेको बताइएको छ ।
एमसीसीकै कारण बैठकको पूर्वनिर्धारित कार्यसूची प्रभावित हुनसक्ने नेताहरुले बताएका छन् । बैठक तीन दिनसम्म चल्नेछ ।
टिप्पणीहरू