प्रचण्डले नारायणकाजीको मतलाई केन्द्रीय समितिमा ठाउँ दिने
सत्तारुढ नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटी बैठकमा व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी पारित गर्ने विषयमा उठेका फरक मतमाथि छलफल हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुने बताएको नेतृ ओनसरी घर्तीले जानकारी दिइन् ।
एमसीसीको विषयलाई लिएर पार्टीभित्र उत्पन्न फरक मत र विचारलाई केन्द्रीय समिति बैठकमा छलफल गरेर निकास निकाल्न अध्यक्ष प्रचण्ड सकारात्मक रहेको घर्तीको भनाइ छ । उनले पार्टीभित्रका फरक मत र विचारलाई छलफलमार्फत टुंग्याउने विश्वास पनि व्यक्त गरिन् ।
यसअघि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्याउने एमालेको षड्यन्त्र रोक्न व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्नुपर्ने प्रष्टीकरण दिनुभएको थियो । सभामुखमाथि महाभियोग लगाएर एमालेले राजनीतिको कोर्स नै बदल्ने प्रयास गरेपछि सम्भावित राजनीतिक ध्रुवीकरण रोक्न र सत्ता गठबन्धन जोगाउन एमसीसी पास गर्नुपरेको उहाँको भनाइ थियो ।
प्रचण्डले चुनावसम्मै गठबन्धन कायम रहने पनि बताउनुभएको छ । एमसीसी पारित भएसँगै चुनावसम्म गठबन्धन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत भइसकेको उहाँको दाबी छ ।
तर, एमसीसी प्रकरणले माओवादीमा तीव्र विवाद छ । नेता नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका अधिकांश नेता एमसीसी पास गर्ने प्रचण्डको निर्णयसँग असहमत छन् । यही विषयलाई लिएर नेताहरुबीच आरोप–प्रत्यारोपसमेत चलेको थियो । एमसीसीकै कारण माओवादी केन्द्र विभाजित हुनसक्ने अनुमान गरिएका बेला आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा विषयले प्रवेश पाएको हो ।
खुला रूपमा विचार राख्न पाउनुपर्ने श्रेष्ठ समूहको मागबमोजिम नै प्रचण्डले एमसीसीलाई बैठकको एजेण्डामा राख्नुभएको बताइएको छ ।
टिप्पणीहरू