अमेरिकामा जँड्याहा यात्रुका कारण विमान बीचैमा अवतरण
क्यानाडाकाे टाेरन्टाेबाट मेक्सिको सिटीको लागि उडेको एरोमेक्सिकोको एउटा विमानलाई स्थानीय समयअनुसार बिहीबार बिहान अकस्मात अमेरिकाकाे टेक्सास राज्यको ह्युस्टनस्थित जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थलमा अवतरण गराइएको छ ।
दुई जना पुरुष र एक जना महिला यात्रुले मादक पदार्थ सेवन गरेर अस्वाभाविक व्यवहार देखाएपछि नजिकैको विमानस्थलमा अवतरण गराइएको हो ।
एरोमेक्सिकोकाे उडान नम्बर ६१७ को उक्त विमानलाई स्थानीय समयअनुसार बिहान पौने ४ बजे अवतरण गराइएको हो । विमानका परिचारकले थप मादक पदार्थ पिउन अनुमति नदिएपछि उनीहरुले ताण्डव देखाएको बताइन्छ ।
मादक पदार्थ सेवन गरेकाले विमानभित्र मास्क नलगाउने,असभ्य व्यवहार प्रदर्शन गर्ने र झगडालु स्वभाव देखाउने भएपछि परिचारकहरुले क्याप्टेनलाई खबर गरेका थिए । विमानका क्याप्टेनले आकाशबाट विमानस्थलमा जानकारी गराएर प्रहरीलाई तम्तयार अवस्थामा राख्न लगाए ।
विमान अवतरण गर्ने बित्तिक्कै तीनै जना यात्रुलाई विमानबाट निकालेर प्रहरीले सोधपुछको लागि लगेपछि विमान मेक्सिकोतर्फ उडेको थियो । विमान कम्पनीले भने कुनै प्रतिक्रिया दिएको छैन ।
अमेरिकामा गत वर्षमात्र विमान यात्रामा अभद्र र अमर्यादित व्यवहार गरेका छ हजार घटना दर्ता भएका थिए । गत फेब्रुअरीमा अमेरिकन एअरलाइन्समा एक जना यात्रुले उडान परिचारकको टाउकोमा कफीको भाँडोले हानिदिएका थिए । त्यसपछि उनले विमानको संकटकालीन ढोका खोल्ने प्रयास समेत गरे ।
अमेरिकाको संघीय हवाइ प्राधिकरणले उडानको क्रममा अमर्यादित व्यवहार गर्ने यात्रुलाई प्रत्येक घटनामा ३७ हजार डलरसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ ।
टिप्पणीहरू