महासचिवको महाभारतले माओवादी बैठक स्थगित
सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक फेरि रोकिएको छ । आज दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।
यसअघि पटक-पटक स्थगित हुँदै आएको बैठक अस्ति शुक्रबारदेखि शुरु भएको थियो । केन्द्रीय सदस्यको मनोनयन,पदाधिकारी चयन,पोलिटब्युरो र स्थायी कमिटी गठन,एमसीसीलगायतका विषय बैठकको कार्यसूचीमा थिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशले एमसीसी र समसामयिक राजनीतिबारे सम्बोधन गर्नुभएको थियो । माओवादीमा एमसीसी अनुमोदनलाई लिएर विवाद छ । अस्तिको बैठकमा प्रचण्डले एमसीसीको बचाउ गर्दा श्रेष्ठले भने आलोचना गर्नुभएको थियो ।
आजदेखि बैठक कार्यसूचीमा प्रवेश गर्ने भनिएको थियो,तर एकाएक स्थगित भएपछि पदाधिकारी चयनलगायतका प्रक्रिया फेरि पछि धकेलिएको छ । यसअघि फागुन ८ र ९ गतेका लागि निर्धारित बैठक फागुन २० गते बस्नेगरी सारिएको थियो भने २८ र २९ माघमा डाकिएको बैठक १० दिनपछि धकेलिएको थियो ।
गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन । महाधिवेशनलगत्तै बसेको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेर पुस २५ सम्मलाई बैठक स्थगित गरेको थियो । त्यसयता पटक-पटक बैठकको मिति तोक्ने र स्थगित हुने भैरहेको छ ।
आन्तरिक तयारी नपुगेर भने पनि पदाधिकारी चयनको सकसले बैठक स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले बताएका छन् । उनका अनुसार पदाधिकारीमा पनि महासचिवमा नेताहरुबीच हानथाप चलेकाले बैठक स्थगित गर्नुपरेको हो ।
महासचिवमा प्रचण्डका दुई विश्वासपात्र वर्षमान पुन र जनार्दन शर्माका साथै नेताहरु देव गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेतलगायतको दाबी छ । जसमध्ये पुन र शर्माको बढी सम्भावना रहेको बताइएको छ । तर, उनीहरु एकले अर्कालाई स्वीकार नगर्ने बरु चुनाव हुनुपर्ने अडानमा रहँदा माओवादीलाई महासचिव छान्न महाभारत परेको बताइन्छ । गुरुङ, भुसाल र बस्नेत भने सहमतिमा जसलाई बनाए पनि स्वीकार गर्न सकारात्मक छन् ।
महासचिवबाहेकका पदमा भने ठूलो विवाद नरहेको बताइन्छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको निश्चितजस्तै छ । उपाध्यक्षहरुमा कृष्णबहादुर महरा,पम्फा भुसाल, हरिबोल गजुरेल,गिरिराजमणि पोखरेललगायतको सम्भावना रहेको बताइन्छ । त्यस्तै,बैठकमा केन्द्रीय सदस्यहरुको मनोनयन पनि बाँकी छ ।
महाधिवेशनले १ सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो । १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा अरु मनोनित हुन बाँकी छ । माओवादीको विधानमा केन्द्रीय सदस्यहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।
टिप्पणीहरू