कालोकोटमा कसले तान्न सक्लान् भोट ?
कालो कोट लगाउनेहरुको छाता संगठन नेपाल बार एशोसिएसनले आगामी चैतको तेस्रो साता नयाँ नेतृत्व छान्दैछ । निर्वाचन तालिकाअनुसार भोलि उम्मेदवारको नाम दर्ता गर्ने कार्यक्रम छ । तर आजसम्म न गठबन्धन दल निकट वकिलहरुबीच सहमति भएको छ, न वामपन्थी दलहरुबीच नजिक भनेर चिनिएका वकिलहरु नै मिल्न सकेका छन् ।
यसबीच माओवादी,नेकपा एकीकृत समाजवादीसँग निकट कानुन व्यवसायी र नेपाली काँग्रेस निकट वकिलहरुबीच भागबण्डा मिलाउने सन्दर्भमा भएको कुराकानी पनि टुंगोमा पुग्न सकेको छैन । उता एमाले र माओवादीसहित एकीकृत समाजवादीसँग नजिक रहेका वकिलहरुले पनि कुरोको चुरो मिलाउन सकेका छैनन् । सबै पक्ष आ-आफ्नो अडानमा रहेका कारण वार्ता र छलफल डेडलकको अवस्थामा पुगेको स्रोतले दाबी गरेको छ ।
नेकपा माओवादी निकट एक जना कानुन व्यवसायी भन्छन्, ‘काँग्रेसले गत चैतमा भएको पत्रकार महासंघको चुनावमाझैँ अध्यक्ष, उपाध्यक्षसहित मेजर पोर्टफोलियो मागेर अत्तो थापेको छ । अहिले बारको चुनावमा पनि अध्यक्ष र महासचिवसहित १६ पद चाहियो भनेको छ । तर २५ जनाको कार्यसमितिमा जम्मै उसलाई बुझाउन त कसरी सकिएला र !’
एमालेनिकट कानुन व्यवसायीहरुसँग पनि कुराकानी अघि बढेको तर त्यता पनि कुरो अड्किएको उनै कानुन व्यवसायीले बताए । ‘एमालेका साथीहरु आफ्नै नेतृत्व लाद्ने पक्षमा देखिएपछि हामीले मान्दैनौं भनिदियौं,’ स्रोत अगाडि भन्छ, ‘सबैलाई मान्य हुनेगरी साझा उम्मेदवार बनाऔं । अहिलेको अवस्था पनि त्यस्तै छ ।’
“पत्रकार महासंघको चुनावमाझैँ अध्यक्ष, उपाध्यक्षसहित मेजर पोर्टफोलियो मागेर अत्तो थापेको छ । अहिले बारको चुनावमा पनि अध्यक्ष र महासचिवसहित १६ पद चाहियो भनेको छ । तर २५ जनाको कार्यसमितिमा जम्मै उसलाई बुझाउन त कसरी सकिएला र !”
नेकपा एकीकृत निकट वकिलहरुबीच वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल,सविता भण्डारी या हरि उप्रेतीजस्ता तटस्थ र वरिष्ठ व्यक्तित्वलाई उठाएर गइयो भने जित्न सकिन्छ,नत्र सकिँदैन भन्ने मान्यता देखिएको छ । तर,एमाले निकट साथीहरुले उक्त आग्रहलाई पनि स्वीकार गर्न नसकेको बताइन्छ ।
यता काँग्रेस निकट डिएलएले उठाउन खोजेका उम्मेदवारमा सुनिल पोखरेल हुन् । तर सोही संगठनभित्र भयंकर विवाद देखिएको छ । विवाद मिलाउन उनीहरुले प्रधानमन्त्रीलाई समेत गुहारेको बुझिएको छ ।
प्रधानमन्त्री शेरबहादुरले भन्दा पनि डिएलएका नेताहरुले हामी विचार गर्छौं भनेपछि बालुवाटार पुगेका वकिलहरुलाई प्रधानमन्त्रीले ‘केटाहरुले मानेनन् भनेर दुःखेसो पोख्नुभएको छ ।’
यता एमालेले उठाउन खोजेका उम्मेदवारहरुमा महेश नेपाल,रविनारायण खनाललगायत हुन् । पूर्व उपाध्यक्ष टिकाराम भट्टराईको इच्छा भएपनि रमेश बडालहरुले उनलाई नरुचाएको बताइन्छ ।
यसअघि भोजराज आचार्यलाई माधव नेपाल पक्ष छाडेपछि एमालेले गत हप्ता प्रोग्रेसिभ लयर्स एसोसिएसनको अध्यक्ष बनाइदिएको छ । बारको चुनाव र मतदाताको विश्लेषण गर्दा सबै वामपन्थी मिल्दा पनि काँग्रेससँग आधी आधी हुने अवस्था छ । त्यस्तो अवस्थामा न्युट्रल मत जसले तान्यो उसले जित्ने स्थिति बन्छ ।
अन्यथा,काँग्रेससँग अरु मिल्ने बित्तिक्कै एमाले,एकीकृत समाजवादी र माओवादीले जित्ने सम्भावना नै हुँदैन । अहिले काँग्रेसले वामपन्थी फुटेको मौका छोप्न लागेकाले पनि २५ जनामा १६ पदको दाबी गरेको हुनसक्छ ।
उम्मेदवारी दर्ता गर्ने म्याद भोलि रहे पनि अहिलेसम्म वकिलहरुबीच भावी नेतृत्वको टुंगो लागेको छैन । वामपन्थीहरु विभाजित भएर चुनावमा प्रतिस्पर्धा गरेमा सबैको पराजय निश्चित देखिन्छ ।
टिप्पणीहरू