ठेकेदारले लापरबाही गरेपछि ठेक्का तोड्ने तयारी

ठेकेदारले लापरबाही गरेपछि ठेक्का तोड्ने तयारी

निर्माणाधीन घोराही–तुलसीपुर चार लेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएको छ ।

सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्योलमा परेको छ ।

यो सडक निर्माणको थालनी २०७६ असारमा सुरु भई २०७८ बैशाखमा सम्पन्न भइसक्नु पर्ने थियो । आयोजनाका अनुसार काम सुरु भएको तीन वर्ष सकिन लाग्दा वित्तीय प्रगति १४ प्रतिशत र भौतिक प्रगति सात प्रतिशत मात्रै भएको छ । सडक निर्माण नहुँदा जीर्ण बनेको सडक खण्डमा दुर्घटनाका कारण डेढ दर्जन नागरिकले ज्यान गुमाइसकेका छन् भने थुप्रै भौतिक क्षति भएको छ ।

सडक आयोजनाले ठेकेदार कम्पनीसँग पेश्की रकम फिर्ता लिने प्रक्रियासमेत थालेको बताइएको छ । आयोजनाले रकम फिर्ता लिन खोजेपछि निर्माण कम्पनीका प्रतिनिधि सुवास श्रेष्ठले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा अदालतले आयोजनाकै पक्षमा अन्तरिम आदेश दिएको छ ।

संघीय सरकारले भारतीय एक्जिम बैंकको सहयोगमा चार वर्षअघि लमही–तुलसीपुर सडकलाई चार लेन बनाउने गरी आयोजना कार्यालय लमहीमा स्थापना गरेको थियो ।

पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको २८ दशमलव १९ किलोमिटर सडक विस्तार हुन लागेको हो । त्यसमध्ये १४ दशमलव ४ किलोमिटर मात्रै चार लेनको हुने र बाँकी करिब १४ किलोमिटर दुई लेनको हुने बताइएको थियो ।

टिप्पणीहरू