नेपाली ध्वजावाहकले साउदीका तीन शहरमा उडान अनुमति पायो
नेपाल वायुसेवा निगमले साउदी अरेवियाका तीन शहरमा आफ्नो जहाज उडाउन पाउने भएको छ । आज साउदी अरेवियाको जनरल अथुरेटी अफ सिभिल एभिएशन (जिएसिए) ले दमाम, रियाद र जेद्दामा उडान अनुमति दिएसँगै अब नेपाली ध्वजाबाहक जहाजले उडान भर्न पाउने भएका हुन् ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा रिहादस्थित जिएसिएको कार्यालयबाट उडान अनुमति पाएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार निगमका जहाजलाई साउदी अरेवियाका रियाद, दमाम र जेद्दामा उडान भर्न बाटो खुलेको छ ।
योसँगै निगमले आउँदो अप्रिलबाट काठमाण्डौं-रियाद-काठमाण्डौंका लागि सातामा तीन वटा व्यावसायिक उडान शुरु गर्ने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र कार्यकारी अध्यक्ष अधिकारीको पहलमा उडान अनुमति प्राप्त भएको निगमले बताएको छ ।
टिप्पणीहरू