बिजुलीको पोलको भाडा नतिर्नेलाई प्राधिकरणको चेतावनी
नेपाल विद्युत प्राधिकरणले पोल भाडा बक्यौता महशुल नतिर्नेको सेवा जुनसुकै बेला काटिनसक्ने चेतावनी दिएको छ । टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई पोल भाडाको बक्यौता महसुल भुक्तान गर्न र नगरेको खण्डमा त्यसको परिणाम भोग्न तयार रहन प्राधिकरणले भनेको छ ।
प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको हो । प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने आज प्रकाशित सूचनामा उल्लेख छ ।अधिकांश सेवा प्रदायकले नियमाअनुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको भन्दै तत्काल सम्झौता र नवीकरण गर्न आग्रह गरिएको छ । हालसम्मको बाँकी बक्यौता भाडा रकम भुक्तानी गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।
‘नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न यसअघि नै पटक–पटक सचेत गरिसकिएको छ,’ सूचनामा भनिएको छ,’नियमानुसार सम्झौता नगरी सेवा प्रदायकहरूले लाइन विस्तार गरेको पाइएमा लाइन विस्तारका सामग्री नियन्त्रणमा लिनसक्ने छ ।’
टिप्पणीहरू