अनसनरत विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन

अनसनरत विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीलाई पढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले पर्सि बुधबारभित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।

आज बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीहरुको कोर्ष पूरा गरिदिनुपर्ने बताएका हुन् ।

उनले विद्यार्थीहरु पढ्न छाडेर अनसन बस्ने हदसम्म कलेजले पुर्याएको भन्दै तत्काल समस्या समाधान गरेर विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउन निर्देशन दिएका हुन् ।

सभापति घर्तीले नेपालमा कानुन आफ्नो हातमा लिएर स्वार्थ पूरा गर्ने काम भइरहेको भन्दै यसको अन्त्य गर्नुपर्नेसमेत जनाएका थिए ।

उनले कलेजले कानूनतः विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन निर्देशन दिँदै हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविश्यलाई उज्यालो बनाउनु पर्ने बताए ।

टिप्पणीहरू