बारको चुनावमा सत्ता गठबन्धन, एमालेको छुट्टै प्यानल

बारको चुनावमा सत्ता गठबन्धन, एमालेको छुट्टै प्यानल

नेपाल बार एशोसिएसनको आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले निकट कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन कांग्रेसनिकट गोपालकृष्ण घिमिरेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ भने एमाले एक्लै प्रतिष्पर्धामा होमिने भएको हो ।

हिजो बसेको सत्ता गठबन्धनका नेताहरुले घिमिरेको नाममा सहमति जुटाएका हुन् । कांग्रेसनिकट कानुन व्यवसायीको संगठन डिएलएका पूर्वअध्यक्ष घिमिरे कांग्रेसको निर्वाचन समितिका संयोजकसमेत हुन् ।

गठबन्धनले महासचिवमा अन्जिता खनाललाई अघि सारेको छ । उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्न लागेकी हुन् । बागमतीबाट उपाध्यक्षमा एकीकृत समाजवादीका हर्क रावल प्रतिष्पर्धामा उत्रिने भएका छन् ।

एमालेको प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई अगाडि सारेको छ ।

उपाध्यक्षमा प्रदेश १ बाट रोहित डाँगी,प्रदेश २ बाट केशव दास,बागमतीबाट डिल्लीराम मैनाली,गण्डकीबाट भुपेन्द्र खनाल,लुम्बिनीबाट वासुदेव ज्ञवाली,कर्णालीबाट विष्णुप्रसाद तिमल्सिना र सुदूरपश्चिमबाट चन्खबहादुर सावद (सीभी) ले उम्मेदवारी दिने तय भएको छ ।

पीपीएलएको प्यानलमा महिला उपाध्यक्षमा रमा श्रेष्ठ,महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन्।

१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ । अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्वनिम्ति निर्वाचन हुन लागेको हो ।

टिप्पणीहरू