युक्रेनको पक्ष लिँदै भारतलाई धन्यवाद

युक्रेनको पक्ष लिँदै भारतलाई धन्यवाद

परराष्ट्र मन्त्री डा. नारायण खड्काले रुस-युक्रेन युध्दमा भारतको सहयोग लिएर युक्रेनस्थित नेपालीको उध्दार गरिएको बताउनुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर खड्काले रुसले युक्रेनमा आक्रमण गरेपछि भारतीय सहयोगमा नेपालीको उध्दार गरिएको बताउनुभएको हो ।

उहाँले ५ सय ३३ नेपालीलाई युक्रेनबाट सुरक्षित रुपमा उध्दार गरेर नजिकैको पोल्याण्ड,हङ्गेरी, र स्लोभाकिया पठाईएको पनि जानकारी दिनुभयो । सो क्रममा मन्त्री खड्काले भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सोअनुसार सहयोग भएकोमा धन्यवादसमेत दिनुभयो ।

उक्रेनमा रहेका नेपालीहरुको अवस्था बुझ्न जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा निरन्तर सम्पर्क गरिरहेको पनि उहाँको भनाइ छ । रुस-युक्रेन मामिलामा दुई छिमेकी मुलुक चीन र भारत तटस्थ बस्दा आफूलाई युक्रेनको पक्षमा उभ्याएको परराष्ट्र मन्त्रालयले त्यहाँस्थित नेपाली नागरिकको उध्दारमा भने भारतको भर पर्नुपरेको हो ।

“चीन र भारत तटस्थ बस्दा आफूलाई युक्रेनको पक्षमा उभ्याएको परराष्ट्र मन्त्रालयले त्यहाँस्थित नेपाली नागरिकको उध्दारमा भने भारतको भर पर्नुपरेको हो ।”

मन्त्री खड्काले नेपालले असंलग्न परराष्ट्र नीति अन्तरगत नै युक्रेनको समर्थन गरेको र अर्को कुनै गुटमा नगएको पनि दाबी गर्नुभयो । रुस र युक्रेनको स्वतन्त्रता,सार्वभौमिकता र स्वाधीनताको सम्मान गर्दै दुई देशबीच उत्पन्न समस्या आपसी समन्वयमा समाधान गर्न उपयुक्त हुने भनेर नेपालले विचार प्रवाह गरिसकेकाले कुनै देशको पक्षमा उभिएको भन्ने कुरा सत्य नभएको उहाँको भनाइ छ ।

प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै अब एमसीसी कार्यान्वयनमा जाने बताउँदै उहाँले त्यसका लागि परराष्ट्र मन्त्रालयले खेल्नुपर्ने आवश्यक भूमिका खेल्ने पनि जानकारी दिनुभयो । त्यस्तै,राजदूत रिक्त रहेका देशहरुमा तत्काल नियुक्त गर्नेगरी आफूले प्रयास गरिरहेको पनि खड्काले सुनाउनुभयो ।

त्यस्तै,टर्कीमा शुरु हुने अन्तालिया डिप्लोमेसी फोरममा भाग लिन आफ्नो नेतृत्वको टोली त्यसतर्फ जान लागेको पनि जानकारी दिनुभयो । उक्त फोरममा विभिन्न देशका उच्चपदस्थ अधिकारीहरुसँग भेटघाट हुने भएकोले नेपालका लागि महत्वपूर्ण उपलब्धि हुने उहाँको विश्वास छ ।

सो क्रममा उहाँले मैत्रीपूर्ण र कूटनैतिक संवादमार्फत छिमेकी देशहरुसँगको असमझदारीहरु हटाउन आफू प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो । भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा-लिपुलेक क्षेत्रको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।

टिप्पणीहरू