संकटकाल र माओवादीको भारत–चीनसम्म सञ्जाल

संकटकाल र माओवादीको भारत–चीनसम्म सञ्जाल

(नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका अध्यक्ष प्रतापराज वन्तले माओवादी हाइकमाण्डलाई लेखिएको पत्र : सुनिल शर्मा (नोबेल मेडिकल कलेजवाला), मनोज थापा, बादलदेखि धेरै जना पात्र जोडिएको यो प्रकरण पढ्दा अहिले पनि धेरैको आङ जिरि¨ हुने गर्छ ।)

मैले उल्लेख गरेका सत्य, तथ्य घटना गलत ठहरिन गएमा जनहिरासतको कठघरामा रही कुनै पनि प्रकारको दण्ड सजायँ भोग्न तयार भएर उचित समयलाई पर्खी बसेको छु । मसँग अब गुमाउन बाँकी केही पनि छैन ।

२००९ साल भाद्रमा हापुरे वार्ताअगावै उपत्यका छोडेर पहाडी इलाकामा जिम्मेवारीसहित क. कुमार दाहालको नेतृत्वमा गइसकेको थिएँ तर हापुरे वार्ता हुने भन्ने निर्णय भएपछि पार्टीको निर्देशनबमोजिम उपत्यका आइयो । हापुरे वार्ता भंग भएपछि उपत्यका छाडी बाहिर जान लाग्दा हाइकमाण्डले विदेश पठाउने भन्ने निर्णयसहितको निर्देशन भई मैले सम्हाली आएको बुद्धिजीवी मोर्चा क. चित्रबहादुर श्रेष्ठले सम्हाल्ने र पार्टी नेतृत्व क. अनिल विरहीले लिने भन्ने निर्णय भई आएकाले त्यसैबमोजिम चीन जाने तयारीमा लागें ।

एशिया–प्रशान्त क्षेत्र हेर्ने मेरो प्रमुख जिम्मेवारी भएकाले सहयोग गर्न क. ज्ञानेन्द्र त्रिपाठी जाने भन्ने विदेश विभागको निर्णयबमोजिम दुवै जना चीन जाने निधो गरी प्रक्रिया थालनी ग¥यौं । पार्टीले दिएको सूचना, जानकारी र सहयोगी सम्पर्क व्यक्तिहरू खोज्ने क्रममा क. देवेन्द्र पौडेल र क. अनिलले चीन अध्ययन गरी फर्कनुभएका क. खगेन्द्र देवकोटासँग परिचय गराइदिनुभयो । डा. खगेन्द्रमार्फत सांघाई विश्वविद्यालयमा भाषा विषय पढ्न भर्ना भई जाने तयारी गरें ।

यसै सिलसिलामा क. मनोज थापाको तर्फबाट सुनिल (चाइनाको एउटा निजी विश्वविद्यालयमा पढ्ने र नेपाल तथा अन्य देशहरुबाट विद्यार्थी जम्मा गर्ने एकजना ब्रोकर, हाल नोबेल मेडिकल कलेजका साहुजी) सँग यतै परिचय भयो र उनले पनि सहयोग गर्छन् भन्ने सल्लाह भयो । हङकङको रेजिडेन्स भिसा लिएर बस्नुभएको चेतनाथ चौलागाईं र गुरुङजी (गुरुङजी चितवनमा साइँली दिदीको छोरा भनेर चिनिनुहुँदो रहेछ) सँग पनि पार्टीको सल्लाह र निर्देशनबमोजिम फोन तथा इमेल सम्पर्क हुन गयो ।

काठमाडौंबाट सिधै सांघाई फ्लाइट नगर्ने भन्ने सल्लाह भएकाले क. अनिल र क. कुमार दाहालसँग छलफल गरी फष्र्ट इन्भायरोमेन्टल ट्रेकिङका डाइरेक्टर (नवराज दाहाल) को सहयोगमा भारतबाट बैंकक ट्रान्जिट भई जाने टिकट तथा अन्य व्यवस्थापन गरियो । एक्लै नजाने भन्ने निर्णय भएकाले एसिएम क. रमेश गुरागाईंलाई लिएर काठमाडौंबाट दिल्ली बसमा गयौं । दिल्लीबाट रमेशलाई जहाजमा नेपाल पठाउने व्यवस्था मिलाई म सांघाई उडें । क. रमेशलाई एयरवेबाट पठाउनुपरेका कारण दशैं एकदमै निकट भएकाले ट्रेनको टिकट उपलब्ध हुन नसकेर हो ।

बैंकक ट्रान्जिटबाट मैले क. अनिल र क. पवनलाई फोन गरेर जानकारी गराएको थिएँ । क. ज्ञानेन्द्र त्रिपाठी हङकङ, चीन जाने प्रक्रिया मिलाउँदा मिलाउँदै दिल्लीबाट म उड्ने दिनमै पक्राउ पर्नुभएको खबरले अत्यन्त दुःखी र चिन्तित बनाएको थियो भने शंकाहरु पनि बढ्न थाल्यो । म सांघाई एयरपोर्ट पुग्दा क. खगेन्द्रले भनेका व्यक्तिहरु रिसिभ गर्न आएनन्, एयरपोर्टबाटै फोन गरी टु वे ट्याक्सी फेयर दिने शर्तमा सांघाइ विश्वविद्यालय पुगें ।

त्यहाँ पुगेकै दिन नेपाली विद्यार्थीको गेटटुगेदर प्रोग्राम रहेछ, पीएचडी अध्ययनरत केदार श्रेष्ठको जन्मदिन पनि भएको मलाई सुनाए । पछि बुझ्दा जन्मदिन नभएको भन्ने थाहा पाएपछि शंका लाग्न थाल्यो । बेलुका परिचयको क्रममा वास्तविक नामसहित आफू व्यापारी भएको र नेपालमा द्वन्द्वका कारण व्यापार व्यवसाय खस्किँदै गएकाले भाषा अध्ययन गरी व्यापार गर्ने विचारले आएको भनी चिनाएँ । यसै विश्वविद्यालयमा इञ्जिनियरिङ अध्ययन गर्ने सन्तोष कार्की (बझाङ) को क्रियाकलाप त्यसै दिनदेखि नै शंकालु खालको लाग्यो ।

डा. खगेन्द्रले नाम दिएका कुनै पनि व्यक्तिले सहयोग गरेनन् । डा. केदार श्रेष्ठ र सन्तोष कार्की नै मेरो नजिकमा रहिरहे । खाँदा, बस्दा, घुम्दा हरबखत सँगै हुने र छलफलमा बस्दा उनीहरु सत्ताका (राजावादी) तावेदार भएको महसुस हुन थाल्यो । इमेल गर्दा पनि थाहा नपाउने किसिमले मेरो पछाडि बसेका हुँदा रहेछन् ।

आफूसँग कम्प्युटर नभएकाले विश्वविद्यालयकै कम्प्युटर केन्द्रबाट इमेल गर्थें । साइबरमा गएर इमेल गर्ने प्रयत्न गर्दा पनि कुनै न कुनै बहाना निकालेर सँगै जाने गर्थे । हेनानमा बसेको सुनिल (मनोजको साथी) लाई फोन/इमेल गरें तर पोजिटिभ रेस्पोन्स भएन । गफ मात्रै गर्ने तर व्यवहारमा सहयोग नगर्ने भयो । सांघाईबाट सेनजेन, ग्वाङजाउ (हङकङको सिमाना जहाँ चेतनाथ चौलागाईंले एउटा कोठा भाडा लिएर व्यवसाय गर्दै रहेछन्) १६०० कि.मी. दूरीमा भएको र ट्रेनभाडा पनि ६०० युआन भएकाले तीन महिना भाषा सिकेर मात्र जाने सोच बनाई फोन, इमेलद्वारा पार्टीको काम चालु गरें ।

म पुगेको एक महिनाभित्रै मनोज थापा सांघाइ आइपुगेको र ग्वाङजाउस्थित चेतनाथ चौलागाईंको डेरामा जान लागेको जानकारी फोमार्फत पाएँ । युरोप सेक्टरमा जिम्मेवारी तोकिएको व्यक्ति अचानक चीन आई मलाई फोन गरेकाले वास्तविकता जान्नका लागि काठमाडौंमा क. प्रदीप (प्रजापति) लाई फोन गर्दा मनोजजी एक महिनादेखि सम्पर्कमा नरहेको र कता गए थाहा नभएको जवाफ आएकाले अलिकति अप्ठेरो महसुस हुन गयो । त्यसबारे मैले श्रद्धेय क. बादललाई पनि जानकारी गराएँ ।

क. थापा नपुगुञ्जेल चेतनाथ चौलागाईं र अम्बु गुरुङजीको अत्यन्त सकारात्मक सोच र क्रियाकलाप थियो र पाँच जनाको कमिटी हङकङमा चेतनाथकै अध्यक्षतामा गठन गरी सक्रियतापूर्वक अगाडि बढ्दै थियो । त्यसैबीच मैले चेतनाथलाई फोन गरी क. थापाको युरोपको जिम्मेवारी भएको तर चीन आउँदा सम्बन्धित कमाण्डलाई जानकारी नभएकाले कुन उद्देश्यले यता आउनुभएको हो, वास्तविक तथा आधिकारिक निर्णय र जवाफ नआउँदासम्म हामीले बनाएको कमिटीको बारेमा जानकारी नगराउनुहोला, अहिले अनौपचारिक कुराहरुमा मात्र सीमित रहनुहोला भन्ने अनुरोधसहित इमेल गरें ।

त्यस घटनादेखि चेतनाथमा मसँग कुरा नगर्ने, इमेलको जवाफ नदिने, फोनमा कुरा गर्दा पनि अलि उग्र स्वभाव देखाउने प्रवृत्ति देखिन थाल्यो । चेतनाथ र गुरुङजी दुवै बेरोजगार रहेछन् । चेतनाथले ऋणधन, जालझेल र नेपालीलाई युरोप पठाउँछु भन्दै मान्छेसँग पैसा लिने तर पठाउन भने नसक्ने, बेरोजगार नेपालीलाई दुःख दिएको प्रत्यक्ष देखें । एक डलर आम्दानी छैन तर मनोज आएपछि मासिक १५ सय डलर दिएर एकजना युवतीलाई सेक्रेटरी राखेको रहेछ । एकजना प्रौढलाई मासिक ७ सय डलर दिएर भात पकाउन, भाँडा माझ्न राखेको, ११ सय डलरमा कोठा व्यवस्थापन, खानामा मासिक न्यूनतम १ हजार डलर खर्च हुने रहेछ ।

चेतनाथलाई आउनुस् भनेर ३० पटक फोन गरेपछि उनी सांघाइ आए । त्यतिबेलाको होटल खर्च, वन वे ट्रेन टिकेट पनि मैले नै दिनुपरेको थियो । तीन महिनापछि म सांघाइबाट चेतनाथको कोठामा गएँ । त्यतिबेला थापाजी त्यहीं रहेछन् । काम गर्ने दुई÷दुई जना बसेका रहेछन् । त्यसैबीचमा मनोजजी हेनान, बेइजिङ, हङकङसम्म गए । हङकङमा उनीहरु १० दिन बस्दाको क्रियाकलाप गुरुङजीलगायतका कमिटी सदस्यले बताउनुहुनेछ ।

मैले बनाएको एसिया प्रशान्त क्षेत्रको कमिटीका कमरेडहरुलाई अब १८ महिनामा हाम्रो सत्ता आउँछ, सरकार बन्छ भनी उचालेर भ्रम फैलाउने काम गरेको रहेछ । माओवादीको खुला मोर्चाको सदस्यले झैं पूर्णरूपने एक्सपोज हुने गरी जताततै जाने, होटलमा रक्सी, बियर खाएर पार्टीको कुरा गर्ने, सुनिलले जाँडरक्सी खाएर बबाल मच्चाउने र पार्टीकै बद्नाम हुने गरी काम गर्नेबारे पार्टी कमिटीले मलाई जानकारी गराएको थियो । एकजना पार्टी कमिटीको मेम्बर (सीधा लिम्बु) को ५० लाख डलर एकजना धनाढ्य नेपालीले नतिरेको रहेछ । मनोजले त्यसमध्ये अनेक तरिका अपनाई पाँच लाख डलर उठाइदिएछ र त्यसै रकमबाट करिब ४ सय हङकङ डलर जतिको सामान किनाएछ । पछि अमेरिकी डलर ३/४ हजार हङकङ कमिटीले तिर्ने गरी लिएर थापा इटली गए ।

थापाजी गएपछि चेतनाथ चौलागाईं र गुरुङजीको घर खानतलासी गरी गुरुङजीको कम्प्युटर, किताब र पत्रपत्रिकासहित हङकङ प्रहरीले दुवैजनालाई हिरासतमा राख्यो । पाँच हजार डलर वकिललाई दिएर मुद्दा लडियो । अन्त्यमा हङकङ सरकारले १०÷१० हजार डलर धरौटी राखी तारेखमा रिहा ग¥यो । लगत्तै म बसेको कोठामा चिनियाँ प्रहरी दुई जना आएर हाम्रो विस्तृत विवरणसहित प्रहरीमा बुझाउनुपर्ने सरकारी फारम दिए । त्यसपछि हाइकमाण्डमा जानकारी दिई अनुमति लिएर भारत उडेँ ।

सेनजेनमा एउटा मिटिङ गर्दा सुनिललाई पनि सदस्यमा राख्नुपर्ने भन्ने थापाजीको भावनाअनुसार राखियो । होटलमा बैठक गरियो । सुनिलले एक दर्जन बियर जबर्जस्ती टेबुलमा ल्याएर राखे । करिब पाँच बोतल उनैले खाए र उठेर हेनानतर्फ उडे । बाँकी पाँचवटा बियर मैले होटललाई फिर्ता गरिदिएँ ।

मैले उसको हेनान विश्वविद्यालयमार्फत हङकङ जाने भिसा मिलाइदिन सयपटक अनुरोध गर्दा पनि हुन्छ, हुन्छ भन्ने तर कहिल्यै नमिलाउने गरी थापाजी युरोप (इटली) उडेपछि सुनिल पनि इण्डिया जान्छु भनी बेपत्ता भए र मेरो सम्पर्कबाट सदासदाका लागि गायब भए । सांघाईबाट बैंकक ट्रान्जिट हुँदै इण्डिया आएर एयरपोर्टबाट बाहिर निस्कन खोज्दा भारतीय प्रहरीले निहुँ खोज्न थाल्यो । आफू नेपाली भएको र मानवअधिकारको कदर गर्न अनुरोध गरेपछि एयरपोर्टमा मेरोवरिपरि ६ सशस्त्र प्रहरी २४ घण्टा राखेर भोलिपल्ट १२ बजेको इण्डियन एयरलाइन्समा जबर्जस्ती नेपाल उडायो ।

नेपाल एयरपोर्टमा ओर्लंदा साथमा भारतीय दूतावासका कर्णेल र राजदूत पनि थिए । एयरपोर्टमा दुई घण्टा बस्दासम्म भिआईपी वार्डमा नगई म बसेकै रुममा बसिरहे । दुई घण्टापछि घर आउन गाडी चढ्दा त अगाडि पुलिसको गाडी, त्यसपछि दुईवटा मोटरसाइकल (सादा पोशाक), पछाडि सेनाको गाडी । चाबहिलमा मेरो गाडी रोकेर फोन गर्न लाग्दा ती सबै गाडी यथास्थानमा रोकिएपछि आफू गिरफ्तार भइसकेको निश्चित भयो । दुईवटा प्रहरी भ्यान र दुईवटा प्रहरी पिकअप घर अगाडि आएर बसिसकेको रहेछ । प्रमाण रानीबारी मार्ग सामाखुशीका छिमेकीहरु हुन् ।

बेलुका ७ बजेपछि चारवटै प्रहरीका गाडी गए । ६–७ जना सादा पोशाकका प्रहरीले रातैभरि घरवपरिपरि घेरा हालेर बसे । श्रमितीले राजनीतिक पार्टीमा नलाग्ने र साधारण, स्वतन्त्र नागरिक भई बस्ने विज्ञप्ति निकाली सिडिओलाई जानकारी गराउने, पछि अनुकूल परिस्थितिमा पार्टी सम्पर्क गर्ने सल्लाह दिनुभयो ।

४ बजे फर्केर दिल्ली जाने निर्णय गरें । एसिएम केशव न्यौपानेको मोटरसाइकलमा वीरगञ्जसम्म जाने निर्णय गरी डेरामा बिहान ५ बजे पुग्दा दुई मिनेटपछि दुई जना सादा पोशाकका गुप्तचर त्यही घरमा डेरा खोज्ने बहानामा आइपुगेपछि म अझै बढी चिन्तित बनेर केशवजीलाई पिछा लागिरहेको जानकारी गराएँ । जे–जे पर्ला, वीरगञ्जसम्म पु¥याइदेऊ भनें । मोटरसाइकल लिएर त्रिभुवन राजपथ हुँदै वीरगञ्ज जाने क्रममा एउटा रातो मारुती कारमा पाँच जनाले पिछा गरेको निधो भयो । मैले केशवलाई नआत्ती हिँड, तिमीलाई केही हुँदैन, जे–जे हुन्छ, मलाई नै हुन्छ भनी सम्झाउँदै लगें ।

वीरगञ्जको वर्कसपमा मोटरसाइकल राखेर रक्सौल जान लाग्दा दुईवटा मोटरसाइकलमा चार जना मुसण्डे आइपुगे । यसरी जहाँ जहाँ गए पनि पछि लागिरहने तर पक्राउ नगर्ने गरेकाले मलाई विश्वास भयो, पार्टी हाइकमाण्डको नेतृत्वसम्म क्षति पु¥याउने उनीहरुको प्रयास हो । आफू सिद्धिएर पनि नेतृत्वलाई जसरी पनि बचाउनुपर्छ भन्ने दृढता, संकल्प र प्रतिबद्धतासहित केशवलाई काठमाडौं फिर्ता गरेर पटना हुँदै दिल्लीसम्मको यात्रा गरें । रक्सौलबाट पार्टीलाई सम्पर्क गरी चीनदेखि रक्सौलसम्मका सम्पूर्ण घटनाहरु बताएँ ।

दिल्ली रेल वे स्टेशनमा पुगेर फोन गर्न लाग्दा पनि ५–१० मीटरको दूरीमा पूरै प्रहरी बसे र म फोन गर्न बुथमा लम्केको देखेर ८ वटा टेलिफोन बुथ खाली गराए । अब मैले अन्तिम निर्णय गरें, जसरी पनि नेतृत्वलाई सुरक्षित गर्नुपर्छ । मेरो कारणले पार्टीमा क्षति हुनुभन्दा मै सिद्धिनु तुलनात्मक रुपले ठीक हुन्छ भनी निर्णय गरेर बुथमा फोन गर्न थालें ।

एउटामा मैले, अर्कोमा सादा पोशाकको गुप्तचरले फोन उठाएर मात्र बसिरह्यो । मैले आँट गरेर फोन गरी पार्टीलाई मलाई दिएको दुईवटा मोबाइलको सिमकार्ड जलाइदिन र इमेल डिलिट गर्न अनुरोध गरी फोन राखिदिएँ । हाइकमाण्डलाई बचाउन सकें भनेर प्लेटफर्ममा बसी विचार गर्न थालें । बेलुका ९ बजे रेल वे स्टेशनबाट मामाको डेरा न्यू महावीर नगरतिर जाने निधो गरी एउटा अटो रिक्सा लिएर गएँ । करिब १५ किमी दूरी पार गर्न एक घण्टा लाग्यो । सादा पोशाक र सशस्त्रका गरी थुपै्र मोटरसाइकल, प्रहरी भ्यान अघिपछि दायाँबायाँ लागेर पिछा गरेको स्पष्ट देख्न सक्थें ।

भोलिपल्ट बिहानै दिल्ली रेल वे स्टेशनबाट पटना हुँदै रक्सौल वीरगञ्ज आइपुगें । दुई दिन पर्सा बन्द कार्यक्रम रहेछ । रिक्साबाहेक केही साधन चलेको थिएन । त्यतिबेला नै पार्टीले वीरगञ्ज नगरपालिकाको मेयरलाई सफाया गरेको रहेछ र डिसिएम दुई जना कमरेडलाई सत्ताका भिजिलान्तेहरुले मोटरसाइकलमा जाँदै गर्दा ढुंगाले हिर्काएर मारेका रहेछन् ।

मैले कोठा बुक गर्नासाथ चार जना पहलमानजस्ता मुसण्डे भिजिलान्तेले मेरो दायाँबायाँको दुईवटा कोठा बुक गरिहाले । कोठामा आएर आराम गर्न लाग्दा चार जना दुश्मन पछि लागी कोठा खोलेर दायाँबायाँ बस्न थाले । मेयरका श्रीमती, छोराहरु बरखीको सेतो लुगामा मेरै होटलअगाडि मात्रै बस्ने, हेर्ने गर्न थालेकाले सडक/होटलमै ढुंगा हानेर बिजोग पारी मार्ने खालको खासखुस र गतिविधि देखिन थाल्यो ।

अन्त्यमा ठीक ५.१५ मा (चैत ८) जिल्ला प्रशासन कार्यालयमा गई म स्वतन्त्र र तटस्थ बस्न चाहन्छु । पावर पोलिटिक्स गर्दिनँ, स्वतन्त्र बस्नसक्ने वातावरण बनाइयोस् भनेर सिडिओलाई भनें । सिडिओले सिआईडी एसएसपी, प्रहरीलाई राखेर मसँग आधा घण्टा कुरा गरी सिधै आर्मी मेजरलाई फोन गरी लिन बोलायो । मेजरले सशस्त्र बलसहितको पिकअप भ्यान लिएर सिडिओ कार्यालयबाट लिएर गयो ।

१० गते बिहान ११ बजे काठमाडौंबाट मेजर र दुईवटा क्याप्टेनसहित हेलिकोप्टर लिएर मलाई लिन आए र काठमाडौंको सबैभन्दा कडा महावीर (रेञ्जर) गणको कोतगार्डको बीच कोठामा ल्याएर राखियो । ११ गते डिएमआई चिफ जनरल दिलिपजंग रायमाझी र कर्णेल गरी दुई जनाले बयान लिए । उनीहरुले तपाईं अहिले यहाँबाट जानुहोस्, पार्टीमा काम गर्नुस्, कहिलेकाहीं यता हामीले दिएको फोन नम्बरमा सम्पर्क गर्नुस्, हामी सहयोग गर्छौं भनी फकाउन थाले ।

एक हप्तापछि आएर तपाईं गोरखाको तेस्रो माओवादी नेता (बाबुराम भट्टराई र हितराजपछि) नेराबुसंघको केन्द्रीय अध्यक्ष, सामाजिक, राजनीतिक इतिहास राम्रो भएको मान्छे हुनुहुँदो रहेछ । अघि बढ्नुहोस्, मिलेजति सहयोग गर्छौं भने । अर्को हप्ता तिनै दुई व्यक्ति आएर काठमाडौंमा भएका माओवादी नेता–कार्यकर्ताको घर डेरा देखाइदे, दुई जना क्याप्टेन पठाइदिन्छु भने । त्यतिबेला मेरो जवाफ थियो– म विदेश गएको सात महिना भइसक्यो, पहिले पनि विदेशमै थिएँ । मसँग उपत्यकाको कोही सम्पर्कमा छैन ।

पहिलेको डेरा सबैले छाडेर गइसके । पुरानो ठाउँ देखाइदिने भए देखाइदिन्छु भनेपछि जे जे सक्छस्, देखाइदे भने । त्यसपछि दुईजना क्याप्टेनसहित मैले पुरानो डेराहरु (पवनको क्षेत्रपाटी, देवेन्द्र पौडेलको सिफल, बानेश्वरको मेरो डेरा, चित्रबहादुर दाइले छोड्नुभएको बालाजुको कोठाबाहेक कतै गएको छैन, पार्टीले छानबिन गरी तथ्य निकाल्न अनुरोध गर्छु), देखाएको स्वीकार्छु ।

मेरो राजनीतिक तथा वैचारिक स्खलन तथा क्षयीकरण भए/नभएको जाँच्ने कसी व्यवहार नै हो । मलाई २०६० साल चैत ८ देखि २०६२ साल साउन २० गतेसम्म १६ महिना १२ दिन महावीर (रेञ्जर) गणमा राखी तारेखमा श्रीमतीको जिम्मेवारीमा छाडेको हो । हप्तामा एकपटक तारेखमा जानुपर्ने र आवश्यकताअनुसार प्रत्येक दिन टेलिफोन सम्पर्कमा बस्नुपर्ने, उपत्यकाबाहिर जान नपाउने शर्तमा छोडिएको थियो ।

मलाई तारेखमा छोडेको १०–१५ दिनपछि नयाँबजार टाउन प्लानिङमा डेरा गरी बस्ने मेरो आफ्नै सानीआमाको छोरा अरबबाट जागिर खाएर दुई वर्षपछि नेपाल फर्केको ज्ञानेन्द्र श्रेष्ठमार्फत थाहा पाएपछि मेरी श्रीमती र म त्यहाँ गएका थियौं । पाँच मिनेट कुरा गरिसकेपछि ज्ञानेन्द्रले दिनेश श्रेष्ठ पनि त्यही घरमा बसेको छ भन्यो । दिनेशकी बहिनीलाई ज्ञानेन्द्रकै भाइ राजेश्वरले विवाह गरेको रहेछ । त्यो मलाई थाहा थिएन । दिनेश बहिनीज्वाँइ बसेकै घरमा सुरक्षित हुन सकिन्छ भनेर श्रीमतीको डेलिभरी गराउन त्यहाँ गएर बसेछ ।

म त्यस घरबाट हिँडेपछि दिनेश कोठा छाडेर आफ्नै कान्छा बाजेको घरमा गई बसेछ । त्यहाँ बसेका सबैलाई दिनेश दम्पतीले ‘प्रताप गद्दार, बेइमान’ आदि इत्यादि अपशब्द बोल्दै म गएको थाहा पाउनासाथ गिरफ्तार गरेर पार्टीमा बुझाउने तयारी गरेछन् । त्यसै दिन बेलुका ९ बजेतिर सुरक्षाफौजले छापा मारेर दिनेशलाई पक्राउ गरी हिरासतमा राखेछ ।

दुई महिनामा दिनेश जेलबाट छुटेपछि त झन् मेरो बारेमा यति धेरै नकारात्मक भ्रम र प्रोपोगण्डा मच्चियो कि दिमागले झण्डै झण्डै थेग्न नसक्ने अवस्थामा पुगिसकेको थियो । त्यसको दुई–तीन महिनापछि क. पार्वती थापा काठमाडौं आई बसेको बेलामा पक्राउ परिन् । त्यो दोष पनि ममाथि नै थोपरियो, जबकि उनी आएर बसेको घर मैले देखेकै छैन ।

टिप्पणीहरू