कसले गरिदेला शान्ति चेपाङको उपचार ?

कसले गरिदेला शान्ति चेपाङको उपचार ?

-शंकर श्रेष्ठ

शान्ती चेपाङ बुढीआमाको पिठ्ँयु चढेर हारगुहार गर्दै हिँडिरहेकी छिन् । महिना दिनदेखि कहिले स्कुलतिर पुग्छिन्, कहिले गाउँकै स्वास्थ्य चौकी पुग्छिन् त कहिले बजारतिरका घरदैलो धाइरहेकी छिन् ।

तर, उपचार गरिदिने कोही भेटेकी छैनन् । २१ वर्षीया शान्ति भन्छिन्, ‘मैले दुखाई सहन सहिन कि मलाई मारिदिनुस् नत्र मेरो आँखा बिसेक पारिदिनुस् ।’

धादिङको बेनिघाट रोराङ–२, आँपटारकी शान्तिको दुबै आँखाका गेडी बाहिर निस्किएका छन् । देब्रे आँखाको नानीमा मासु पलाएको छ । एकनासले आँसु बगिरहन्छ ।रुमालले आँसु पुछेर पत्तै लाग्दैन । मानिसहरु उनको आँखा हेर्नसमेत डराउँछन् । डरलाग्दो आँखा बोकेर उनले धेरै ठाउँ चाहरिसकिन् । ‘टाउको पनि घनले हानेजस्तै बल्किन्छ, ब्रुसेट खाएर सुत्छु भन्दा पनि निदाउन मिल्दैन’, उनको पीडा परैबाट देखिन्छ ।

उपचारको गुहार माग्दामाग्दै अब त उठ्नै नसक्ने अवस्थामा पुगिसकेकी छन् । आमाको पिठ्युँबाट झरेर सिधा उभिन पनि उनलाई मुश्किल छ ।

‘दुबै आँखाका गेडी बाहिर निस्किएका छन् । देब्रे आँखाको नानीमा मासु पलाएको छ । मानिसहरु उनको आँखा हेर्न समेत डराउँछन् ।’

भन्छिन्, ‘मेरो शरीर गल्यो, कस्ले बचाइदेला र मलाई, अब बाँच्ने आश पनि मरिसक्यो । सकुञ्जेल खपेरै बसेँ अहिले त खप्नै नसक्ने भएँ’, परेलाबाट बाहिर निस्किएका आँखाका गेडी रुमालले पुछ्दै उनले पीडा पोखिन् ।

‘कुनै कारणले आँखा रातो भएको छ ? आँखा दुखेको छ ? या आँखामा पीडा भएको छ ? अलिकति पनि ढिला नगरी राम्रो आँखा अस्पतालमा जानुहोस् । ढिला भएमा आँखा मात्र हैन, ज्यानै गुम्ने खतरा हुन्छ’ भन्ने सुनेकी उनलाई त्यस्ता कुराले झन् अत्याइदिएको छ ।

पैसा नभएकै कारण दुःखाई कम गर्ने औषधिसमेत खान पाएकी छैनन् । ‘अस्पतालको डाक्टरले अपरेशन गर्न पैसा चाहिन्छ भन्यो, त्यसै फर्किएँ’, पैसा नभएकै कारण अस्पतालबाट आँखाको उपचार नगराई फर्किनुपरेको शान्तिले बाध्यता सुनाइन् ।

छिमेकी र आफन्तहरुसँग थोरै पैसा जम्मा गरेर उपचारको लागि त्रिपुरेश्वर आँखा अस्पताल पुगेकी पनि रहिछन् उनी । चेक गर्दा चिकित्सकले अपरेसन गर्नुपर्छ, पैसा लाग्छ भनेपछि फर्किएको शान्तिकी आमा निरमाया चेपाङले बताइन् ।

दुई वर्ष अघिदेखि उनले थाइराइडको औषधि खाँदै आएकी थिइन् । दुई महिना अगाडि बुबाको मृत्यु भएपछि उनले औषधि खान पाएकी छैनन् । थाइराइडकै कारण आँखाको दृष्टि नशामा समस्या भएर आँखाको गेडी बाहिर निस्किएको हो ।

‘टाउको पनि घनले हानेजस्तै बल्किन्छ, ब्रुसेट खाएर सुत्छुभन्दा पनि निदाउन मिल्दैन’ उनको पीडा परैबाट देखिन्छ ।’

‘अस्पतालले थाइराइडको औषधि बाँचुञ्जेल छुटाउन हुन्न भनेको थियो, पैसा नभएर औषधि खान छोडेपछि आँखा यस्तो बन्यो’, निरमायाले गुनासो सुनाइन् ।छोरीको आँखा निको हुने आसैआसमा शान्तिको आमाले गाउँका धेरै मन्दिर, चर्च र ससनसमेत चाहारेकी छन् । गाउँमा झाक्री त कति लगाइन् गन्ती नै छैन । रातदिन नभनी पटुकाले छोरी बोकेर झाक्रीकोमा धाउँदा पनि निको हुने छाँट नदेखेपछि छोरी बोकेर उपचारको लागि गुहार माग्दै हिँडेको निरमायाँ बताउँछिन् ।

‘कमाएर ल्याइदिने बुढा (श्रीमान) को पनि दुई महिनाअघि एक्कासी मृत्यु भयो । त्यसपछि छोरीलाई औषधि किन्न पनि सकिनँ, बुढाले त छाडेर गयो छोरी पनि माया मार्नुपर्ने भयो’, बाटोमा भेट्ने जो कोहीलाई बिलौना सुनाउँदै गर्दा निरमायाँको आँखाबाट धरधरी आँशु चुहिन्छ । अस्पताल लाने पैसा नभएर झाक्रीकै भरमा झारफुक गर्दागर्दै बुढा गुमाउनु परेको पीडा पनि उस्तै छ ।

चेपाङ परिवारमा पौष्टिक खानपान नभएर शरीर कमजोर बनेकै कारण शान्तिका बुबा हरिबहादुर चेपाङको मृत्यु भएको स्थानीय विष्णु सेढाईंले बताए । हरिबहादुरको १३औं दिनको किरिया पनि गाउँलेहरुले चन्दा उठाएर गराइदिएको सेढाइले जानकारी दिए । शान्तिका बुवाको काजकिरिया पनि चन्दा उठाएर गरिएकाले अहिले फेरी गाउँमा चन्दा सहयोग माग्न सक्ने अवस्था नभएकाले अन्यौल परेको सेढाईंले बताए ।

स्वास्थ्यकर्मीहरुका अनुसार आँखाको गेडी, पर्दा, दृष्टिनशा, आँसु ग्रन्थीलगायतका अंगहरूमा समस्या आएका विरामीले बेलैमा उपचार नपाए ज्यानैसमेत जान सक्छ ।

टिप्पणीहरू