रिद्धिसिद्धिको नाउँमा चेपाङ परिवारको उठिबास लाउने को–को ?
फागुन ९ गते हेटौँडामा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको उपस्थितिबीच मकवानपुरका प्रजिअ भरतमणि पाण्डे, प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ, स्थानीय तहका प्रतिनिधिहरू, मानवअधिकारकर्मी, जातीय संगठनका नेता र रिद्धिसिद्धि सिमेन्टका कर्मचारी सम्मिलित अन्तरक्रिया कार्यक्रम भएको थियो ।
कार्यक्रम अवधिभर राक्सिराङ गाउँपालिका–४ नं वडामा पर्ने गिङ्गुस्थित ढुंगाखानीबाट गरिब, चेपाङ, तामाङ, दलित समुदायको पुख्र्याैली जग्गा बिचौलियाले खाइदिएको आवाज उठिरह्यो । मानव अधिकारवादी पत्रकार प्रताप बिष्टले त मुखै खोलेर भने–‘बिचौलिया खोज्न टाढा जानुपर्दैन, चेपाङको जग्गा खाने चेपाङ नै छन्, अरु खोज्नुपर्दैन ।’
बिचौलियाका कारण गिङ्गु बस्तीमा पुर्खादेखि बस्दै आइरहेका बासिन्दामाथि अन्याय भएको सर्वत्र आवाज उठिरहँदा सिडिओ र एसपी भने आफूहरूमा कुनै पनि उजुरी नपरेको बताइरहेका थिए । घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले नै अनुसन्धान गरेर संक्षिप्त अवस्था शुरुमै प्रकाश पारेको थियो । तर, पनि नियमनकारी निकायका प्रमुख उजुरी नभएको बताइरहेका थिए ।
बिचौलियाले कसरी त्यहाँ गरिब, विपन्न परिवारमाथि अन्याय र शोषण ग¥यो त भन्ने सन्दर्भमा खोजी गर्दै जाँदा गाउँको पुख्र्यौली जग्गा बेचे पनि एक कौडी दाम हातमा नपरेपछि ज्यामी काम खोज्दै एउटा परिवार काठमाडौँतर्फ भास्सिएको घटना सार्वजनिक भएको छ । ४० वर्षीय बुद्धिमान चेपाङ अहिले ९ जनाको परिवारसहित काठमाडौँतिर ज्यामी काममा छन् । उनले जनआस्थासँग पोखेको पीडा यस्तो छ ।
घटना ४ वर्षअघिको हो । म आमा चन्द्रमाया चेपाङ बिरामी भएर उपचार गराउँदैमा हैरान थिएँ । अस्पताल लैजाँदै, उपचार गर्दागर्दै ६ लाख रुपैयाँ सकियो । उपचार गरेर घर त फर्कें, तर आमा ६ महिना पनि हामीसँग रहनुभएन । उहाँ बितेको पीडा एकातिर छ भने उपचार गरेको ऋण कसरी तिर्ने भन्ने कुराले म सधँै तनावमा रहेँ । त्यत्रो पैसा जिन्दगीभर कमाउन सकिँदैन भन्ने थियो ।
यस्तैमा हाम्रो गाउँमा सिमेन्ट उद्योगको खानी उत्खनन हुँदै छ भन्ने सुन्दै आइरहेको थिएँ । त्यो रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी रहेछ । मलाई गाउँकै सागर प्रजा र तिलकबहादुर रुम्बाले अब सबै जग्गा उद्योगले किनिदिन्छ, हामीले सबै जग्गा बेची अन्तै गएर बस्नुपर्छ भने । राक्सिराङ ९ मा दर्ता कायम रहेको मेरो १९ रोपनी ७ आना जग्गा पनि बेच्नुपर्ने अवस्था आयो । सोचेँ–अब जग्गा बेचेको आधा रकमले अन्तै घर बनाउँछु र ज्यामी काम गरेर परिवार पाल्छु । बाँकी आधा रकम आमाको उपचार गर्दा लागेको ऋण तिर्छु ।
यही योजनाका साथ सागर प्रजा र तिलकबहादुर रुम्बाको नाउँमा २०७५ साल भदौ ४ गते जग्गा पास गरिदिएँ । जग्गा पास गर्दा रकम लिएको सनाखत गर्ने ठाउँमा मलाई पैसा लिइसक्यो भन्न लगाए । त्यसपछि पैसा माग्दा प्रजा र रुम्बाले एक हप्तामा अरु जग्गा पनि उद्योगलाई आउँदै गरेकाले एकैपटक पैसा दिने बताएपछि मन अमिलो भयो । मैले यो कुराको विरोध गरेँ । तर, जग्गा उनीहरूकै नाउँमा भइसकेको थियो ।
त्यस दिनदेखि पैसा आउँछ कि भनेर पर्खेर बसेको आज यत्रो समय भयो । प्रक्रिया हुँदै छ भनेर अन्य मान्छेहरूलाई जग्गा दिएको बताउँदै उनीहरू पन्छिँदै गए । अहिले बुझ्दा रुम्बा र प्रजाले उक्त जग्गा सोमलाल प्रजा र मोहन स्याङ्तानलाई संयुक्त रूपमा २०७५ साल माघ १७ गते बिक्री गरेको रहेछ । त्यसपछि सोमलाल र मोहनबाट फेरि २०७५ साल फागुन ६ गते मोहनको एकल स्वामित्व हुने गरी जग्गा पास गरेको रहेछ । अनि मोहनले खानी सञ्चालक एकदन्त माइन्स एण्ड मिनरल्स प्रालिको नाउँमा २०७७ कात्तिक २१ गते बिक्री गरेको रहेछ ।
जग्गा खानीको नाउँमा पुगिसकेको रहेछ । तर, मैले रकम अहिलेसम्म पाएको छैन । मेरा ४ जना छोरामध्ये ५ र १५ बर्षको छोरा अनि विवाह भइसकेका २ छोरा र बुहारी अनि २ बर्षे नातिसहित अहिले त्यो गाउँ छाडेर काठमाडौँ पुगेको छु । ज्यामी काम गर्छु । ऋण तिर्न नसकेर भाग्यो भनी साहुले उत्तिकै तनाव दिएको छ । हुनेखानेले हामीलाई बिल्लीबाठ पारे । छलफल गराइपाऊँ भनेर जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन हालेको छु ।
तर, जिल्ला प्रहरी कार्यालयमा मोहन स्याङ्तानलाई उपस्थित गराई छलफल गराउँदा उसले बुद्धिमानसँग मैले जग्गा किनेको होइन, जग्गा बेच्नेलाई पैसा दिइसकेँ भन्यो । हामीजस्ता गरिबले यो देशमा न्याय कहिले र कसरी पाउँछ ? यसबारे नेपाल चेपाङ संघका नेतामार्फत राष्ट्रिय मानवअधिकार आयोगलाई पनि जानकारी दिएको छु ।
टिप्पणीहरू