‘अर्ली इलेक्सन’ मा जान प्रधानमन्त्री अनिच्छुक : प्रचण्ड

‘अर्ली इलेक्सन’ मा जान प्रधानमन्त्री अनिच्छुक : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्ली इलेक्सनको निम्ति स्वयम् प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनिच्छुक रहनुभएको रहस्योद्घाटन गर्नुभएको छ । हिजो पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँका अनुसार अर्ली इलेक्सनको निम्ति माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पहल गरे पनि प्रधानमन्त्रीले हलो अड्काउनुभएको हो ।

‘नेकपा एमालेले संसद चल्न नदिएकाले संसद विघटन गरेर अर्ली इलेक्सनमा जान माधव नेपालले प्रस्ताव गर्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘तर संसद भंग गरेर अर्ली इलेक्सन गर्न प्रधानमन्त्री देउवा तयार हुनुभएन ।’

एमालेले गत साउनदेखि नै संसद बैठक अवरुध्द गर्दै आएको छ । आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि छानबिन गर्न गठित सिफारिश समितिमा एमालेले चार जनाको नाम दिए पनि पछि संसद बैठक अवरुध्द गरिएको थियो ।

उक्त नाम अनुमोदन गर्न सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव प्रस्तुत गर्दा स्वयम एमालेका सांसदले विपक्षमा हात उठाएको समेत देखिएको थियो ।

टिप्पणीहरू