चिनियाँ विदेशमन्त्रीको नेपाल आउने तीब्र तयारी
छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यीले नेपालको भ्रमण गर्ने हुनुभएको छ । छिट्टै हुन लागेको उहाँको भ्रमणको लागि दुबै देशका परराष्ट्र मन्त्रालयले आवश्यक तयारी थालेको बुझिएको छ ।
कूटनीतिक स्रोतका अनुसार विदेशमन्त्री वाङ मार्च महिनाको बाँकी तीन साताभित्र आउने भएकाले सोहीअनुसारको तयारी गरिएको हो ।
चिनियाँ विदेशमन्त्रीको भ्रमण नियमित ‘सेड्युल’ भित्रै हुन लागेको स्रोतको दाबी छ । ‘पहिले नै तयारी गरिएको थियो,तर कोरोना महामारीका कारण केही समय पर धकेलिएको हो । अहिले संक्रमणको अवस्था सामान्य भएकाले भ्रमण हुन लागेको हो, यो संयोग मात्रै अहिले पर्न गएको हो,’कूटनीतिक स्रोतले भन्यो ।
तर,पछिल्ला दिन आफ्नो सहयोग परियोजना बिआरआइप्रतिको उदासिनता र एमसिसीप्रतिको चरम लगावका कारण असन्तुष्ट चीनलाई पोजिसन प्रष्ट पार्ने र सम्बन्ध अरु धमिलिन नदिने सत्ता गठबन्धनको निर्णयअनुरुप वाङ्गलाई बोलाइएको हुनसक्ने कूटनीतिक जगतले अनुमान लगाएको पाइन्छ ।
टिप्पणीहरू