केटीहरू, प्रेमीले झुक्याएर बनाइदेला सेक्स क्लिप

केटीहरू, प्रेमीले झुक्याएर बनाइदेला सेक्स क्लिप

प्रेमका नाममा मरिहत्ते गर्दाको परिणती के हुन्छ भन्ने टिन एजरहरुका लागि ठूलो हो मेरो कथा । अन्धो प्रेमकै कारण मेरो जीवन अधुरो बन्यो । माया प्रेमको बदलामा भोगेको पीडाकै कारण मनमा चैन छैन, मन मुटु भत्भती पोलिरा’छ, न त भेट्छु शान्ति कतै । निद्रा छैन, भोक छैन । वैशाख–जेठको उखरमाउलो घामले त के पोल्छ र जति मनभित्रको आगोले जलाइरहेछ ! यही कारण हो ‘पुरुष’ भन्ने शब्दसँगै मनभरि घृणा जागेको । यद्यपि, मलाई जन्म दिने पूज्य पिता पुरुष नै हुनुहुन्छ ।

हरेश खाएको छैन जीवनसँग । मेरो अस्तित्व लुट्ने नक्कली प्रेमी र उसैको सहयोगमा मेरो शरीरमाथि गिद्धे नजर लगाउने अर्का युवालाई कारबाही गराउन प्रहरीकोमा धाइरहेकी छु । जन्मदिने बाबुआमाजस्तै प्यारो हुँदो रहेछ उमेरमा कोही अरु । संसारको जग विश्वासमा अडिएको हुन्छ अनि विश्वासचाहिँ रेशमी धागोजस्तै । चुँडिएपछि सबै सकियो ।

हिजो कसैको विश्वास र मायामा परेको म अहिले प्रायश्चित गर्र्दै छु । प्रेमको नाटक गर्ने प्रेमी प्रहरी हिरासतमा प्रायश्चित गर्दै छ भने म अहिले उमेर नपुगी गरेको प्रेमका कारण पछुतोमा छु । थाहा छैन, उमेरै नपुगी कसैसँग प्यारमा परेकी गायिका समीक्षा अधिकारीको मनमा कस्तो हुण्डरी चल्दै छ । अहिले प्र्रेम भन्ने शब्द, विगतमा सार्वजनिक भएका फिल्म शैलीका घटनाबाट विरक्त छु । आफ्नो जीवनमा जे भयो भयो, अरु प्रेमीप्रेमिकाले यस्तो जीवन भोग्नु÷देख्नु नपरोस् ।

हिजोका यही पीडादायी क्षणका कारण आज आफ्नै दाजु, आफन्त पुरुषसँग हिँड्दा पनि दशौं पटकसम्म सोच्नुपर्ने स्थिति छ । उमेर १९ वर्ष, स्टाफ नर्स दोस्रोे वर्षमा अध्ययनरत छु । काठमाडौँ खाल्डोबाहिर हो जन्मघर । बुबाको कर्मथलो राजधानीमा । त्यही कारण बुवाकै साथमा बसेर पढ्दै छु । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको जागिरे हुनुहुन्छ बुवा । कोरोनाको तेस्रो भेरियन्ट र लकडाउन अलि साम्य भएपछि भेटेको हुँ काभ्रे घर भई भक्तपुर बस्दै आएका विनय पौडेललाई ।

ऊ पढ्दै थियो नासा इन्टरनेशनल कलेज काठमाडाैँमै, बिबिएसमा । जब दुई आँखा चार भए अनि शुरु भयो हाम्रो प्यार । हाइकिङको सिलसिलामा पहिलो पटक भेट भएको हो । त्यहाँ जाँदा उसले रेखदेख गरेपछि म पग्लिएँ । त्यहीँ फ्रेण्डसिप गरौं न भन्दै आइपुगेको थियो ऊ । बोल्दैमा, हाँस्दैमा के बिग्रन्छ र भन्ने सोच्थेँ । खाइलाग्दो शरीर । बेलुका घर आएर फेसबुक चलाउँदै गर्दा फ्रेण्ड रिक्वेस्ट आएको थियो उसैको । पहिलो भेटमा मान्छे नराम्रोजस्तो लागेन । कसको अनुहारमा लेखेको हुन्छ र को कस्तो छ भनेर ?

त्यहीपछि ऊसँग बाक्लियो गफको सिलसिला । साथीको घरमा गएका बेला नेट चलाउँदा उसको र मेरो लामो कुराकानी भयो, मैले कलेजको नाम मात्र दिएको थिएँ । केही सातापछि ऊ मलाई भेट्न कलेजमै आयो । नर्सिङ कलेज परिसरमा ऊसँग धेरै पटक भेटघाट भयो । दुःख–सुख साँटासाँट ग¥यौँ । यो बीचमा नगरकोट, थानकोट, स्वयम्भू, बालाजुलगायत सबैतिरका पार्कमा पुगिसकेका थियौँ । त्यो अवधिमा उसका गतिविधि शंका गर्ने खालको थिएन । ऊ जिस्कन्थ्यो र भन्थ्यो पनि ‘छोरा बिग्रे कमर्स, छोरी बिग्रे नर्स, हामी दुबै बिग्रने बाटोमा छौँ ।’

एक दिन दिउँसो कलेजमै आएर भन्यो, जाऊँ – साथीको अफिसमा गएर कुरा गरौँ । उसले बाइकमा बस्न अनुरोध ग¥यो । भर्खरै मायाको टुसा पलाउँदै थियो । मायामा शंका घोलिरहनुपर्ने ठाउँ थिएन । आग्रह स्विकारें र बसेँ बाइकमा । त्यहाँ पुगेपछि उसले मेरो शरीर मुसार्न थाल्यो । इन्कार गरेँ । भन्छन् जब नारी प्रेम गर्छे ऊ आँखा चिम्लेर प्यार बर्साउँछे । म त उसको प्यारमा डुबुल्की मारिरहेको थिएँ तर उसको मनमा खोट रहेछ र त यी सबै क्रियाकलाप क्यामेरामा कैद गरिसकेको रहेछ ।

त्यो दिन त्यस्तै भयो, घर फर्किएँ । त्यसपछि पटक–पटक मानसिक यातना दिन थाल्यो । ‘सेक्स क्लिप छ’ भन्दै धम्क्याउने क्रम शुरु भयो । पटक पटक फोन गर्न, उसले भनेको नमाने तेरो सेक्स क्लिप बाबुआमालाई पठाइदिन्छु भन्दै तर्साउन, धम्काउन थाल्यो । म त प्रेममा डुबेकी केटी, उसले जसो भन्यो त्यही मान्दै गएँ । विद्रोह गरौं सेक्स क्लिप सार्वजनिक गरिदेला र बदनाम होला भन्ने डर र त्रासले दिनरात पोल्न थाल्यो । कसैसँग यस्ता कुरा शेयर गर्न पनि सकिनँ ।

त्यही क्लिपका आधारमा उसले मसँग धेरैपटक शारीरिक शोषण गर्दै गयो । ‘कलेज ड्रेसमै उसले जता लैजान्छ उतै गएर उसको इच्छा पूरा गर्न थालेँ । प्रेमीको वासना पूरा गर्नका लागि कलेज र परिवार छाडेर हिँडेको बाध्यताको घटना थियो त्यो । तर, तिनै प्रेमीले अरु साथी लगाएर बलात्कार गर्न लगाउला र आमाबाबुलाई फोन र एसएमएस गर्ला भन्ने एक मनले पनि सोचेकी थिइनँ । यही डरले त म उसका अगाडि दासी बनेँ, उसले जसो भन्यो त्यही मान्दै गएँ । तर, धोकेबाजले यतिमै मात्र कहाँ छाड्यो र ?

पुस पहिलो साता भक्तपुरको एउटा क्याफेमा बोलाएको थियो । त्यहाँ पुग्दा ऊसँगै अर्काे अपरिचित व्यक्ति र अर्की केटी थिए । उसैले चिनायो, ऊ विवेक शर्मा, मेरो अति मिल्ने साथी र सँगै रहेको केटीले आफ्नो नाम धनमाया गुरुङ भनी परिचय दिई । बेलुका अबेला भइसकेको थियो । आकाशलाई मोटरसाइकलमा राखेर मलाई घरमा पु¥याइदे भन्दै काम लगायो ।

मैले आफू एक्लै फर्कने अड्डी लिएको थिएँ । मानेन । बाटामा विवेकले भनेको थियो त्यो विनय गुण्डा हो । उसले यसै गरी धेरै केटीलाई फसाइसकेको छ । तिम्रो सेक्स क्लिप जसरी पनि उम्काएर लिनुपर्छ । मलाई साथ देऊ, मैले भनेजस्तो गर, तिम्रो दुःखमा साथ दिने म भएँ । विश्वासमा परेर उसैले भनेअनुसार गर्दै गएँ । २७ पुसमा उसैको फोन आयो । उसले क्याफेमा लगेर चप्सी खुवायो ।’

चप्सीमा केही मिसाएर खुवाइएकाले बेहोसजस्तै भएँ । यादै रहेन । घर पु¥याउँछु भनेर बाइकमा राखेको पनि सम्झना छ । कोठाभित्र लगी कपडा सबै खोलेर नराम्रो गर्दै छ भन्ने पनि याद छ तर प्रतिकार गर्न आँट आएन । भोलिपल्ट बिहान ब्यँुझँदा कोठामा ऊ र म मात्रै थियौँ । आत्तिँदै यो के गरेको ? भनेँ ।

उसले जुन जवाफ फर्कायो त्यसले छाँगाबाट खसेझैं भएँ । तिम्रो ब्वाइफ्रेण्डले पठाएको भन्ने जवाफ थियो उसको । त्यसपछि झन् तनावमा परेँ । बुवा, आमाको काख छाडेर कहिल्यै रात बाहिर काटेको थिइनँ । राति घरमा नपुगेपछि आमाले फोन गर्दा तेरी छोरीलाई विवेक भन्ने केटासँग पठाइदिएको छु भन्दै रातभर एसएमएस गरेर तनाव दिएको रहेछ । घर पुगेर सबै कुरा आमासँग भनेँ । त्यसपछि हामी प्रहरीमा पुग्यौं ।

नगरकोटमा घटना भएको भन्दै प्रहरीले शुरुमा भक्तपुरतिर खोज्यो । भक्तपुरपछि यो घटना त काभ्रेको रहेछ भन्दै धुलिखेल, धुलिखेलले इलाकाको क्षेत्र भन्दै बनेपा पठाउँदा थप ढिला भइसकेको थियो । माघ पहिलो साता उजुरी दर्ज भएपछि जिल्ला प्रहरी कार्यालयमार्फत मुद्दा अगाडि बढिरहेको छ । मेरो जीवन र जवानी लुट्नेहरूलाई प्रहरीले समातेर थुनेको पनि छ यद्यपि मेरो मनमा शान्ति र चैन छैन । आफैंले विश्वास गरेर प्रेम गर्न खोज्दा भोगेको परिणाम र मानसिक तनाव कम गर्न कानुनी कारबाहीको मल्हम लगाउन खोजिरहेकी छु । ऊसँग अझै मेरो सेक्स क्लिप सुरक्षित छ ।

कलेज उमेरमा कसैलाई प्यार गर्दा यो कस्तो सजायँ पाएँ मैले ? मैले जे भोगें योभन्दा ठूलो मानसिक तनाव र यातनाको शिकार त मेरो बुवा, आमा बन्नुपरेको छ । अहिले पढाइमा ध्यान जान छाडेको छ । पटक–पटक बुबा, आमाले कहिले मनोवैज्ञानिककहाँ लिएर जानुहुन्छ । बाहिर लागेको घाउ त औषधिले निको गर्दाे हो, मनभित्र लागेको घाउ निको पार्ने औषधि कतै नभेटिँदो रहेछ । जहाँ पुगे पनि, जहाँ लगे पनि मनभित्रको घाउ मनमै हुँदो रहेछ । आफैँभित्र घाउ भएपछि जहाँ पुगे पनि घाउले दुखाउन छाड्दो रहेनछ । मेरो जस्तो प्रेम पीडा कुनै पनि महिलाले जीवनमा कहिल्यै भोग्नु नपरोस् ।

इन्दु लम्साल (नाम परिवर्तन)

टिप्पणीहरू