चुनाव आयो,दल फेर्ने मौका पायो

चुनाव आयो,दल फेर्ने मौका पायो

चुनाव नजिकिँदै गएपछि प्रायः राजनीतिक दलका नेता तथा कार्यकर्ताले दल बदल्ने गर्छन् । अहिले पनि त्यो क्रम शुरु भएको छ ।

मोरङको रंगेली नगरपालिकामा माओवादीबाट जितेका मेयर दिलिप बगडिया (अग्रवाल) पार्टी त्याग गरी नेकपा एमाले प्रवेश गर्ने निश्चित भएपछि नेकपा माओवादी केन्द्रले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीको घोषणा गरेको छ ।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले गत साता पोखरामा आयोजित एक कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का नेता देवी सुवेदी,संविधानसभा सदस्य डिबी नेपालीसहित नौ जना केन्द्रीय सदस्य,१३ जना प्रदेश पदाधिकारी तथा सदस्य र १२ जना जिल्ला सदस्यका साथै भ्रातृ संगठनका तीनजना अध्यक्षलाई पार्टीमा प्रवेश गराउनुभएको बताइएको छ ।

यता नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री,नेता विष्णु तिमल्सिनासहित नौ जना नेता कार्यकर्तालाई सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो पार्टी प्रवेश गराउनुभएको छ ।

यसबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभएको छ । यो दलबदल कहिलेसम्म चल्ने हो ठेगान छैन ।

टिप्पणीहरू