मकवानपुर काँग्रेसः बानियाँलाई धक्का

मकवानपुर काँग्रेसः बानियाँलाई धक्का

मकवानपुर जिल्लालाई लालकिल्ला बनाएर बसेको कम्युनिष्टलाई २०७० सालको संविधानसभा निर्वाचनमा धक्का दिएर अघि बढेका इन्द्रबहादुर बानियाँ त्यस यता निरन्तर सफल छन् । त्यतिखेर एमालेका अणराज मगरलाई पराजित गरी बानियाँले मकवानपुर क्षेत्र नम्बर १ मा विजय हासिल गरेका थिए ।

त्यसपछि जिल्लादेखि केन्द्रीय राजनीतिमा बर्चश्व राख्दै आएका बानियाँ काँग्रेस मकवानपुरको सभापति हुँदै भर्खरै बागमती प्रदेशको सभापति बने । संस्थापन पक्षका उनीविरुद्ध अनेकौं मोर्चा खडा हुँदै सकिँदै गर्दा यस पटक भने जिल्ला अधिवेशनमा बानियाँको साइज घटाइएको आकलन गैरसंस्थापन पक्षले गरेको छ । हुनत बानियाँकै सक्रियतामा बुद्ध लामालाई सभापति बनाइएको छ तर पदाधिकारी जिल्ला सदस्यहरूमा भएको मतदानमा बानियाँ पक्षधरको बहुमत छैन । त्यसको एकै कारण हो–सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय र बानियाँबीच प्रगाढ तालमेल नहुनु ।

बानियाँ जिल्ला अधिवेशनमा आफू नखुली अघि बढे । किनकि संस्थापन पक्षकै बुद्ध लामा र आनन्दराम पराजुली सभापतिको दाबेदार बने । यस्तो बेला उनी बोल्न ठीक नहुने ठानेर लामै समय मौनप्रायः रहे । यो अवधिमा सहमहामन्त्री डिनाको समर्थन भने आनन्दराम पराजुलीलाई गयो । २०७४ मा झिनो मतले मेयरमा हारेका पराजुलीको पकड हेटौंडा उपमहानगरमा राम्रो मानिन्छ । पराजुली र लामा संस्थापनकै भए पनि कुरो नमिलेपछि चुनावमा जाने निश्चित भएको हो ।

गैरसंस्थापन पक्षमा उभ्याइए होनहार निर्माण व्यवसायी जयराम लामिछाने । स्वाभाविक रुपमा काँग्रेसको चुनाव अत्यधिक महँगो छ । महँगो चुनाव सामना गर्न लामिछानेले सक्ने भएकाले उभ्याइएको काँग्रेसभित्र चर्चा छ । त्रिपक्षीय भिडन्तमा धन्न गैरसंस्थापन पक्ष अर्थात् लामिछाने तेस्रो भए । कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पहिलो हुने लामा र दोस्रो हुने पराजुलीबीच निर्वाचन हुनुपथ्र्यो । तर, बानियाँ र डिनाको भूमिकाले लामालाई सभापति निर्विरोध घोषणा गरियो ।

आफ्ना प्यानल ९संस्थापन० का सभापति त निर्विरोध गरियो । तर, सभापति, सचिव, सहसचिवलगायत पद अधिकांश गैरसंस्थापन पक्षले लग्यो । उपसभापति आनन्द कठायत, धर्म लामिछाने, सचिव भीमसेन महत, ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपानेलगायत पदाधिकारी बानियाँ पक्षधर होइनन् ।

यसरी आठ वर्षयता मकवानपुरमा बानियाँले जे चाह्यो उही हुन्छ भन्ने मान्यतालाई यसपटक गैरसंस्थापन पक्षका काँग्रेसजनले उल्टाइदिएका छन् । त्यसो त १५औँ अधिवेशनमा जिल्ला सभापति हुने तयारीमा रहेका लामिछानेले छोटै तयारीका बाबजुद पनि १४ औँ अधिवेशनमै सभापति उम्मेदवार बनेर सम्मानपूर्वक मत प्राप्त गर्नुलाई समेत गैरसंस्थापन पक्षले ठूलो उपलब्धि मानेको छ । सम्भवतः अबको ५ वर्षपछि पुनः लामिछाने सभापतिका दाबेदार बनेर अघि बढ्नेछन् ।

टिप्पणीहरू