चिया बगान मास्ने होडमा क–कसको चुईंचुईं

चिया बगान मास्ने होडमा क–कसको चुईंचुईं

सरकारले ५० वर्षका लागि इलाम र झापाका सात चिया बगान भारतीय व्यापारी सुवास सांघाईलाई लिजमा दियो । यसपछि जग्गाको स्वामित्व नै सांघाईको भए जसरी बगान अतिक्रमण गर्ने होड चलेको छ । यता स्थानीयले पनि राज्यको सम्पत्तिभन्दा पनि सांघाईको सम्पत्तिको रूपमा बुझ्ने गरेकाले बगान अतिक्रमणमा रमिते मात्र बन्ने गरेका छन् ।

चिया विकास निगमअन्तर्गतको इलामका चिया बगानमा प्रतिदिन अतिक्रमण बढिरहेको छ । सडकलगायत भौतिक संरचना निर्माणको बहानामा स्थानीय सरकारले चियाका बोट मास्दै मनपरी चिया बगान अतिक्रमण गरिरहेका छन् । चिया बगान अतिक्रमणले मात्र चित्त नबुझाएका स्थानीय तहहरूले आफूलाईनै बगान हस्तान्तरण गर्नसमेत सामूहिक लबिङ गरिरहेका छन् । अहिलेको अतिक्रमणको अवस्थालाई हेर्ने हो भने स्थानीय तहले बगान संरक्षण गर्न या अतिक्रमण गर्न स्वामित्व हस्तान्तरण गर्न माग गरेको हो भन्नेमा स्थानीयले संशय व्यक्त गरेका छन् ।

सबैभन्दा धेरै इलामको कन्याम चिया बगान अतिक्रमण भइरहेको छ । संघीय सरकारको स्वामित्वमा रहेको चिया बगान संघीय सरकारसँग समेत समन्वय नगरी अतिक्रमण भइरहेको छ । सूर्योदयमा रहेको चिया बगानमा केही महिनाअघि व्यक्तिको जग्गामा प्लटिङ गर्ने उद्देश्यले समेत राताराता चियाका बगान मासेर सडक खन्ने काम भयो । स्थानीय युवाको विरोधपछि खनिएको सडक बन्द गरिएको छ । तर, सूर्योदय–६ र ७ का वडाध्यक्ष र नगर प्रमुख रणबहादुर राईको समेत आन्तरिक सहमतिमा बाटो खनिएको स्थानीयको आरोप छ । यसैले अहिले बन्द गरिएको सडक पुनः खोलिन सक्ने स्थानीयको आशंका छ ।

बगान मासेर मेची राजमार्गको नजिकै पाँच सय रोपनीभन्दा बढी व्यक्तिको जग्गामा प्लटिङ गर्ने प्रयोजनले रातारात बाटो खनिएको स्थानीयले बताएका छन् । यसरी नै दुई वर्षअघि सूर्योदय नगरपालिकाले पनि कन्यामको चिया बगानमा डोजर चलाएको थियो । सडक चौडा बनाउने नाममा नगरले हजारौं चियाका बोट मासेर बगानको जग्गामा डोजर चलाएको थियो । पाँच सय रोपनी जग्गा सडक खन्नेक्रममा नगरले अतिक्रमण गरेको निगमले जनाएको छ । यसरी नै भित्री सडक निर्माण गर्ने क्रममा समेत बगानको जग्गा अतिक्रमण भएका छन् ।

यसरी सरकारकै मातहतमा रहेको बगान अतिक्रमण भइरहे पनि संरक्षणमा भने बगान लिजमा लिएको सांघाईले मात्र सक्रियता देखाइरहेको थियो । तर, यस पटक भने अर्थमन्त्रालय समेतले स्थानीय तहहरूलाई पत्र लेखेर बगान संरक्षणमा सहयोग गर्न पत्राचार गरेको छ । अर्थ मन्त्रालयले संघीय मामिला तथा प्रशासन मन्त्रालयलाई पत्राचार गरेपछि फागुन दोस्रो साता संघीय मन्त्रालयले इलाम र सूर्योदय नगरपालिकालाई बगानको जग्गा अतिक्रमण रोक्न सहयोग र समन्वय गर्न भन्दै सफ्ट पत्राचार गरेको छ । सरकार र स्थानीय युवाको समेत सक्रियता बढेपछि अतिक्रमण न्यूनीकरण हुने अपेक्षा गरिएको छ । इलाम नगरपालिकाले पनि संरचना निर्माण गर्ने क्रममा इलाम चिया बगान अतिक्रमण गरेको छ । यसैले मन्त्रालयले इलामलाई पनि पत्राचार गरेको हो ।

टिप्पणीहरू