पूर्णचन्द्रका हस्तीहरु को–को छन् सैनिक सर्कलमा ?

पूर्णचन्द्रका हस्तीहरु को–को छन् सैनिक सर्कलमा ?

सैन्य सेवाको आखिरी समयमा आलोचित भएर अवकाश पाएका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाका तीन जना निकटस्थलाई विना भेद्भाव अझै पनि सेनाको महत्वपूर्ण जिम्मेवारीमा राखिएको छ ।

धेरै दौडधुप गर्दा पनि म्याद थप नभएपछि दुई तारे जर्नेल अनन्त कार्की घर गए पनि पूर्णचन्द्र समूहका गोकुल भण्डारी,प्रेम शाही र विनयविक्रम राणा ठाउँमै छन् । त्यसमध्ये प्रेमलाई पश्चिम कमाण्ड सुर्खेत र विनयविक्रमलाई राष्ट्रिय सुरक्षा परिषद्मा राखिएको छ । प्रेम दुई महिनापछि अनिवार्य अवकाश हुँदै छन् ।

अर्का निकटस्थ भनेर चिनिएका फूलकर्णेल माधव थापा भने यतिखेर विदेशमा छन् । पूर्णचन्द्रले सहायक रथीबाटै घर पठाउन खोजेका बाबुराम श्रेष्ठ उपरथीमा बढुवा भएर अहिले पोखरातिर कमाण्ड सेनापतिको रुपमा कार्यरत छन् ।

सैनिक अधिकारीहरु भन्छन्, ‘पूर्णचन्द्रले कार्यकालको पहिलो दुई वर्ष सेनामा केही सुधार गरे । तर, पछि त के,के गरे गरे ।’ २८ बाहिनी सिराहामा रहँदा पहिले नै विदेशमा सहकर्मीसँग सहमतिमै सम्बन्ध राखेको आरोपमा जर्नेल पंकज कार्कीको जागिर सिध्याउनेमा थापाको चासो रहेको आरोप लागेको छ । त्यसका लागि अनावश्यक ढंगले महिलासँग कुरा गरेको कल डिटेल र म्यासेज खोतल्न लगाएर दुःख दिइएको चर्चा जंगीअड्डामा अहिले पनि चल्ने गरेको छ । उक्त घटनाले सेनाभित्र यौन विसंगति सगरमाथाझैँ चुलिएको सन्देश गएको र संस्था बद्नाम भएको उनीहरुको तर्क छ । यो रोग सुन्दरीजल ब्यारेकतिर अझै उग्र छ ।

पूर्व सेनापतिमाथि निजगढ–काठमाडौं फास्टट्रयाक परियोजनाअन्तर्गत सुरुङ खन्ने ठेक्कामा पनि राम्रो कसरत गरेको आरोप लागेको छ । उनले चिनियाँ कम्पनी पोलिछान्दा इञ्जिनियरिङ र चाइना स्टेपलाई ठेक्का पार्ने क्रममा देशभन्दा दलालहरुको हित हेरेको उजुरी परेपछि संसदको सार्वजनिक लेखा समितिमा व्यापक छलफल भएको थियो । समितिले काम रोक्न निर्देशन नै दिएको थियो ।

“भिनाजु प्रधानसेनापति भएपछि उनको जीवनशैली अचम्मसँग बद्लिएको र दुबईतिर आतेजाते बाक्लिएको नजिकका आफन्तहरुले समेत स्वीकारेका छन् ।”

त्यसमध्ये पोलिछान्दाले २८ र चाइना स्टेपले २१ अर्ब रुपैयाँको ठेक्का पाएका थिए । दुबैमा २२–२२ वटा कम्पनीलाई प्राविधिक अयोग्यताका नाममा प्रतिस्पर्धाबाट बाहिर पारिएको हो । यसक्रममा चाइना स्टेपले २ दशमलव ७५ प्रतिशत र पोलिछान्दाले १५ प्रतिशत कम उल्लेख गर्दै प्रतिस्पर्धामा भाग लिएका हुन् । उक्त विवादमा पूर्णचन्द्रलाई अहिलेका सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीका भाइ तथा सेनाका ठेकेदार लोकेन्द्र र उनकै सालो राजन रायमाझीहरुले उक्साएको भन्नेहरु पनि छन् ।

उनीहरुले ठेक्कामा मात्रै उक्साएनन्, कोरियन हतियार खरिदमा समेत पूर्वसेनापतिलाई उदांगो पारिदिएको स्रोतको दाबी छ । सालो राजन कुनै बेला न्यूरोडको एउटा सटर भाडामा लिएर कम्प्युटर बेच्थे । अहिले बूढानीलकण्ठको घर एकजना पाइलटलाई बेचेर आफू जावलाखेलमा बस्न थालेका छन् । भिनाजु प्रधानसेनापति भएपछि उनको जीवनशैली अचम्मसँग बद्लिएको र दुबईतिर आतेजाते बाक्लिएको नजिकका आफन्तहरुले समेत स्वीकारेका छन् ।

अर्कातिर,नेपाली सेनामा सात जना (एकतारे जर्नेल) सहायक रथी खालि छ । अनन्त कार्कीले अवकाश पाएपछि रिक्त दुई तारे जर्नेलका लागि खरिपाटी शिक्षालयका प्रेमध्वज अधिकारी सिफारिस भएका छन् । पहिले रिक्त दरबन्दीमा बढुवाका लागि सँगसँगै सिफारिस पठाउने चलन थियो ।

तीन वर्ष ढुक्कै भर्ना छनोटमा बसेर एक तारे हुनुपर्नेमध्ये नाताले पूर्णचन्द्रका भाइ पर्ने भकुण्डेका सहायक बाहिनीपति लक्ष्मण थापाको आगामी असारमा पाँच वर्षे कार्यकाल सकिँदैछ । यसरी सात दरबन्दी खालि भएर पनि बढुवा ढिला हुनुको कारण हायर कमाण्ड कोर्षको लफडालाई मानिएको छ । मापदण्ड बदलिएपछि उक्त कोर्ष नै रोकिएको थियो ।

२०७७ सालपछि अल्फा (ए), ब्राभो (बी) र चार्ली (सी) गरी तीन किसिमको वर्गीकरण गरियो । त्यसमा चार्ली र स्नातक नभएकाको हकमा कोर्ष गर्न नदिने नीति बनाइयो । अहिले एक तारे जर्नेलका रुपमा सातमध्ये तीनजना ‘चार्ली’ छन् । जावलाखेलका पुरुषोत्तम ढकालसहित सन्तोष पाण्डे र सुरत रावत स्टाफ कलेजमा पनि ‘चार्ली’ नतिजा आएका अफिसर हुन् । उनीहरुलाई हायर कमाण्ड कोर्ष गर्न नदिने भनिएको थियो, तर पूर्णचन्द्रले जाने बेलामा बाटो खोलिदिएको समकक्षीले बताएका छन् ।

टिप्पणीहरू