सेनाको रिपोर्टले रिझाउने कि बिझाउने ?
आसन्न स्थानीय निर्वाचनमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच पहिलो र दोस्रो स्थानको निम्ति प्रतिस्पर्धा हुने रिपोर्ट नेपाली सेनाको चरक बाहिनीले प्रधानसेनापति प्रभुराम शर्मालाई बुझाएको छ । स्रोतका अनुसार एयरपोर्टमा कार्यालय रहेको सेनाका चरहरूले नेपाली काँग्रेस र एमालेको संगठन राम्रो भएको भन्दै यी दुवैबीच प्रतिस्पर्धा हुने प्रारम्भिक रिपोर्ट गरेका हुन् ।
नेपाली सेनाले विदेशीको हर्कतमाथि नजर लाउन चरक बाहिनीको खडा गरेको थियो । यो नेपाली सेनाको डिएमआईअन्तर्गत रहेको प्रतिजाजुसी संगठन हो । भारतको ‘रअ’ अमेरिकाको ‘सिआइए’ जस्तै भूमिका भएको यो बाहिनी पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाको पाला स्थापना गरिएको हो । प्रारम्भमा फुल कर्णेलले प्रमुखको दायित्व सम्हालेको यस संगठनको अहिलेका प्रमुख भने ब्रिगेडियर जर्नेल सुनिल श्रेष्ठ छन् । जर्नेल श्रेष्ठ दरबार हत्याकाण्डमा गिरिजाप्रसाद कोइरालालाई छाउनीमा ढुंगामुढा हुँदा जोगाएर ल्याउने एडिसी हुन् । उनलाई प्रधानसेनापति प्रभुराम शर्माले ६ नम्बर बाहिनी बैरनीबाट तानेर सचिवालयमा ल्याएको ५ महिना नबित्दै ब्रिगेडियरमा बढुवा दिएका थिए ।
स्रोतका अनुसार दुई हप्ता अघि मात्र राष्ट्रिय अनुसन्धानका प्रमुखसँग श्रेष्ठ भारत गएका थिए । चरकपति श्रेष्ठ प्रधानसेनापतिका सम्धीको सिफारिसको आधारमा एमएसमा ल्याइएका थिए । त्यहाँ रहँदा उनीविरुद्ध रकम हिनामिना गरेको र भैरवनाथका सेनालाई मात्रै च्यापेको आरोप लागेको थियो ।
शुरुमा कामअनुसारको नाम राख्न नजान्ने पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नै सहकर्मी जर्नेल र कर्णेलहरूविरुद्ध पछि चरक बाहिनीलाई खटाएका थिए । उनले ‘चर’ लाई ‘चरक’ बुझेर त्यसैअनुसार नाम राखेका हुन् । ‘चर’ ले ‘गुप्तचर’ बुझाउँछ भने ‘चरक’ भनेको ‘ओखतीमूलो हो । थापाले ‘चरक’ नै राखेपछि बोल्ने हिम्मत पनि गरेनन । अहिलेका प्रधानसेनापति शर्माले कमाण्ड सम्हाल्ने वित्तिक्कै थापाकैं कदमलाई निरन्तरता दिदैं जर्नेलसम्मको जासुसी गर्न ‘चर’ खटाएको बताइन्छ । यसै प्रकृतिको इकाइ २०४६ सालसम्म राष्ट्रिय अनुसन्धानमा रहेको थियो । अहिले सेनाले गठन गरेको छ ।
अमेरिकामा डिआईए, पिआईए र सिआईए जस्ता जासुसी इकाइ छन् । यी आपसमै प्रतिस्पर्धी मानिन्छन् । यिनीहरूबीच पनि सुमधुर सम्बन्ध छैन । तर, नेपालका गुप्तचर इकाइबीच भने प्रतिस्पर्धा देखिँदैन । जबकि यस्ता संस्थामा काममा प्रतिस्पर्धा महत्वपूर्ण मानिन्छ । कसले पहिलो र सही सूचना संकलन गर्ने भन्ने होडबाजीले गर्दा मुलुकलाई फाइदा बरु पुग्ने गर्छ भनिन्छ ।
चीनले ४, ७ र १३ नम्बरलाई अशुभ मानेजस्तै नेपाली सेनाले पनि ८, १२ र २० मान्ने गरेको छ । त्यसैले नेपाली सेनाका बाहिनीहरूको नम्बरमा ८, १२ र २० लाई छैन । ८ र १२ ले पिर्ने विश्वास गरिन्छ । तर, २० नम्बर बाहिनी भने किन बनाइएन स्पष्ट छैन ।
टिप्पणीहरू