गुल्मीमा महोत्सवको तयारी

गुल्मीमा महोत्सवको तयारी

गुल्मीको सदरमुकाम तम्घासमा चौथो गुल्मी महोत्सवको आयोजन गर्न लागिएको छ । आगामी चैत २५ गतेदेखि सञ्चालनमा आउने महोत्सव १० दिनसम्म चल्नेछ ।

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवम् औद्योगिक मेलाको आयोजना गर्न लागिएको बताइएको छ ।

चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए । महोत्सवमा दुई सय बढी स्टल रहनेछन् ।

तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने आयोजकको भनाइ छ । जिल्लामा उत्पादित सुन्तला, तरकारी, च्याऊलगायत गुणकारी चीजहरु महोत्सवमा राखिनेछ । घरेलु र कृषि उपजहरुलाई बजारीकरण गर्न यो महोत्सवले निकै ठूलो भूमिका खेल्ने उपाध्यक्ष भुसालको भनाइ छ ।

महोत्सवमा अन्य मनोरञ्जनात्मक कार्यक्रमको व्यवस्थासमेत गर्ने बताइएको छ । राष्ट्रिय र स्थानीय कलाकारहरुको नाचगान महोत्सवमा समायोजन गरिने छ ।

टिप्पणीहरू