एमसिसी पास गर्दा माओवादीमा पहिरो
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित गरेको कारण माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले भटाभट पार्टी छाडेको घोषणा गर्न थालेका छन् । एमसीसी पास गरेर नेपालको राष्ट्रियता,राष्ट्रिय सार्वभौमिकता एवम् नेपाली जनताको हित विपरित कार्य गरेको भन्दै उनीहरुले पार्टी छाडेका हुन् ।
महोत्तरीका पाँच जना स्थानीय नेता तथा कार्यकर्ताले आज एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका छन् । उनीहरुले माआवादी केन्द्रले एमसीसी पास गर्न नेतृत्वदायी भूमिका खेलको समेत आरोप लगाएका छन् ।
विज्ञप्तिमा लेखिएको छ,‘फागुन १५ गतेका दिन नेपालमा एमसीसी पास गरेर नेपालको राष्ट्रियता,राष्ट्रिय सार्वभौमिकता नेपाली जनताको हित विपरित रहेको अवगत हुँदाहुँदै पनि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले एमसीसी पास गर्ने नेतृत्वदायी भूमिका रहेको हुँदा हामी नेकपा माओवादी केन्द्र पार्टीको साधारण सदस्यसम्म नरहने गरी दल त्याग गरेको घोषणा गर्दछौं ।’
यसरी दल त्यागेको घोषणा गर्नेमा माओवादीको मधेश प्रदेश सदस्य तथा महोत्तरी जिल्ला संयोजक तुलसीप्रसाद ढुंगाना,मधेश प्रदेश सदस्य रामबहादुर राना,मधेश प्रदेश सदस्य तथा बर्दिबास नगरपालिका ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगाना, सोही नगर कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य उर्मिला कार्की र पार्टीको सोही वडा कमिटी अध्यक्ष नरबहादुर खनाल हुन् ।
टिप्पणीहरू